कांग्रेसले बनाएको संविधान कांग्रेसले नै रक्षा गर्छः दीपक गिरी

सन्धिखर्क । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कम्युनिस्टहरुले संविधान ल्याउन नसकेपछि कांग्रेसको नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान आएको बताउँदै त्यसको संरक्षणको चुनौती थपिएको बताएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले कम्युनिस्टहरुसँग भिडेर संविधानलाई संरक्षण गर्नुपर्ने बताए । कांग्रेसभित्रको विवादलाई अन्त्य गरेर कम्युनिस्टहरुले च्यात्न खोजेको संविधानको रक्षा गर्नुपर्ने बताए ।

देशमा शान्ति सुरक्षा बिग्रएको भन्दै केन्द्रीय सदस्य गिरीले निर्मला पन्तका हत्याराहरुलाई सरकारले संरक्षण गरेको बताए । उनले सरकारले नै संरक्षण गरेका कारण निर्मलाका दोषीहरु पक्राउ नपरेको बताए ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बिखण्डनकारी सीके राउतका गतिविधिलाई बैधानिकता दिएको भन्दै गिरीले चिन्ता जनाए । उनले यस्ता बिखण्डनकारीलाई साथ दिने सरकारको बिखण्डनकारी चरित्र बाहिर आएको बताए ।

कांग्रेसको केन्द्रीय कार्यसमिति विवादका कारण स्थगित हुने गरेकोमा केन्द्रीय सदस्य गिरीले चिन्ता जनाए । उनले पार्टीभित्र विवाद छ भने त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने बताए ।

नेता गिरीले पार्टीभित्रको विवादलाई मिलाएर कम्युनिस्टहरुको अधिनायकवादविरुद्ध सडक आन्दोलन गर्ने बेला आएको पनि बताए ।

Published : Thursday, 2019 March 14, 1:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया