विप्लवको नेकपाद्वारा नेपाल बन्दको आह्वान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल बन्दको आह्वान गरेको छ ।

विप्लवको पार्टीले फागुन ३० गते नेपाल बन्दको आह्वान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नेकपाका महासचिव विप्लवले आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तारी गरेको, झुठा मुद्दा लगाएको, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशन गरेको भन्दै नेपाल बन्दको घोषणा गरेको जनाएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरेर विप्लवले नेपाल बन्दसहितका चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन् ।

विप्लवले सरकारले राष्ट्रघात, भ्रष्टाचार, तस्करीविरुद्ध आफ्नो पार्टीले संघर्ष गरिरहेको भन्दै प्रतिरोध संघर्षको बाटो पकडेको बताएका छन् । उनले हाल सरकारले दमन गरेको भन्दै सहन नसकिने भन्दै त्यसको प्रतिरोध गर्नु आफूहरुको कर्तव्य ठानेको बताएका छन् ।

विप्लवले कपिलवस्तुको घटना, देशभरि भैरहेको सेनाप्रहरी परिचालन र दमनका विरुद्ध यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्द आयोजना गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

महासचिव विप्लवले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दमनको धम्की दिनु र देशैभरि गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन गरेको भन्दै फासिवादी चरित्र उदाङ्गो भएको बताएका छन् ।

Published : Friday, 2019 March 8, 9:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया