कांग्रेसभित्र हिन्दूको एजेण्डा बलियो बन्दै
काठमाडौं, २१ फागुन । प्रतिपक्षमा रहे पनि आन्तरिक कलहको चक्रव्युहमा फँसेको नेपाली कांग्रेसले आगामी राजनीतिक यात्रा ‘हिन्दुत्व’को आडमा अघि बढाउने भएको छ ।
व्यवस्था विरोधी र व्यवस्था पक्षधरको चलखेल र राजनीतिक कार्यक्रम ज्यादा हुन थालेपछि प्रतिपक्षमा रहे पनि कांग्रेसको साख जोखिने खासै मुद्दा नभएपछि यस्तो नियतीमा पुगेको हो ।
हिन्दुत्वका विषयमा कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालागायतबीच मतभेद कायमै छ ।
०६३ सालमा गणतन्त्र स्वीकार गरेपछि खासै राजनीतिक दबाब राख्न नसकेको कांग्रेसका धेरै नेताले काठमाडौंमा भएको महासमिति बैठकका दौरानमा हिन्दुत्व मुख्य मुद्दा बनाउनका लागि दबाब दिएका थिए ।
समय सुहाउँदो मुद्दा नभएको भन्दै त्यसले प्रवेश पाएन । यद्यपि, उक्त विचारका समर्थकहरूले भने राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतले भन्दा अघि नै हिन्दुत्वको मुद्दामा कांग्रेसको क्लियर धारणा आउनुपर्ने जनाइसकेका छन् ।
भारतमा २०१९ मा हुने आम निर्वाचनको परिणामका आधारमा कांग्रेसले धर्मबारे निर्णय लिने तयारी गरेको स्रोतले जनाएको छ । ‘केन्द्रीय समितिबाट अचानक ठूलो निर्णय हुनसक्छ’, उच्च स्रोतले भन्यो,‘भारतीय जनता पार्टी केन्द्रीय सत्तामा आयो भने कांग्रेसको हठात् निर्णय आउन सक्छ ।’
हिन्दुत्वको पक्षमा पूर्वमन्त्रीहरू मोहन बस्नेत, भक्तबहादुर बलायर, चिरञ्जीवी वाग्ले, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँ, पूर्वप्रमुख सचेतक लक्ष्मण घिमिरे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, कुमार खड्का, पुष्पा भुसाललगायत छन् ।
डडेल्धुरा सभापति कर्णबहादुर मल्ल, कास्की सभापति कृष्ण केसी, ओखलढुङ्गा सभापति प्रदीपकुमार सुनुवार, अछाम सभापति भरतबहादुर स्वाँर, बझाङ सभापति हर्कजङ्गबहादुर सिंह, हुम्ला सभापति जयपति रोकाय, राजुराज जोशी र भारतेन्द्र मल्लिकलगायतका महासमिति सदस्य हिन्दुत्वको पक्षमा खुलेर लागेका छन् । मल्लले त उक्त विषयलाई महासमितिको छलफको विषय बनाउनुपर्ने भन्दै नेतृत्वको आलोचनासहित प्रस्ताव नै जारी गरेका थिए ।
महामन्त्री डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् । कोइरालाले नेपाल सनातन वैदिक धर्मको भूमि रहेको उल्लेख गर्दै नेपाल धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने बताएका थिए ।
हिन्दू राष्ट्र पक्षधर काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले हिन्दू राष्ट्रको विषय १४औँ महाधिवेशनमा सघनरूपमा उठ्ने दाबी गरिन् ।
पार्टीमा ५० प्रतिश भन्दाबढी नेता कार्यकर्ता हिन्दू राष्ट्रको पक्षमा रहेको भन्दै उनीहरूको आवाज रहेको दाबी गरिएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्छ भन्नेमा मुस्लिम, आदिवासी जनजाति नेता कार्यकर्तासमेत सकारात्मक देखिएका छ । अगामी दिनमा हिन्दू धर्मको एजेन्डा काँग्रेसको राष्ट्रिय एजेन्डा बन्ने उनको दाबी छ ।
कांग्रेसभित्र एउटा फरक गुटको नेतृत्व गरिरहेका पूर्वमहामन्त्री कृष्ण सिटौलाले भने हिन्दुत्वका पक्षमा नेपाली कांग्रेसलाई उभ्याउन नहुने अडान राख्दै आएका छन् ।
केन्द्रीय समितिको बैठक होस् वा अन्य विभिन्न प्ल्याटफर्ममा पनि उनी हिन्दुत्वको भन्दा पनि लोकतन्त्रको वकलात गर्नका लागि कांग्रेसले समय खर्च गर्नुपर्ने बताउँछन् ।
तर कतिपय नेताले भने कम्युनिस्ट होली वाइन खुवाएर क्रिश्चियनको प्रचारमा लागेका बेला कांग्रेसले हिन्दुत्वको एजेन्डा बोक्नुपर्ने बताउँछन् । जनप्रहार साप्ताहिकबाट साभार
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत