कांग्रेसको बैठक अनिश्चितका लागि स्थगित

काठमाडौं । अनुशासन समिति गठन गर्न बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबारको बैठक स्थगित भएको छ ।

बैठकका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु पार्टी मुख्यालय सानेपामा आएका थिए । तर, पौडेलले अनुशासन समितिमा रहने सदस्य, निर्णय प्रक्रिया र समितिको क्षेत्राधिकारलाई लिएर अडान राखेपछि बैठक बस्न नसकेको हो ।

पौडेल समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरु बैठक कक्षमा प्रवेश नै गरेनन् । पौडेलको कार्यकक्षमा बसेर सभापति देउवाले पेल्न खोजेको निस्कर्ष निकालेर बैठक बहिस्कार गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी एवं पूर्व ‘पदाधिकारीको छलफल आज सभापति शेरबहादुर देउवाको कार्यकक्षमा भयो । थप छलफल गर्न आवश्यकता मध्यनजर राखी केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक छलफल पश्चात बैठकको मिति सूचित गरिनेछ ।’

नेपाली कांग्रेस पार्टी मुख्यालयका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीद्धारा जारी विज्ञप्तिअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पौडेल समूहसँग देउवाले पाँच सदस्यीय अनुशासन आयोगमा रहेन दुई जनाको नाम माग गरेका थिए । तर, पौडेलले नाम दिएनन् ।

बरु आयोगको क्षेत्राधिकार कटौतीको प्रस्ताव राखे । पौडेलले अनुशासन आयोगले गर्ने हरेक निर्णय सर्वसम्मत हुनुपर्ने तथा बहुमत आफ्नो समूहको हुनुपर्ने अडान राखेका थिए ।

पौडेल समूहको यो प्रस्तावलाई सभापति देउवाले सिधै अस्वीकार गरिदिएका थिए । देउवाले अनुशासन आयोगको नेतृत्व (संयोजक) भीष्मराज आङदम्बेलाई बनाउन खोजेका छन् । सदस्यहरुमा देउवाले देवेन्द्रराज कँडेल र किशोर राठौरलाई बनाउन चाहेका छन् ।

Published : Tuesday, 2019 February 26, 3:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया