कांग्रेस नेतृ पार्वती शाहलाई ज्यानमार्ने धम्की, रेणु दाहाल मौन
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर एवम् नेपाली कांग्रेसकी नेतृ पार्वती शाहलाई ज्यान मार्ने धम्की आएको छ ।
भरतपुर महानगरपालिकाको उपप्रमुखको सचिवालयले चलाउँदै आएको फेसबुक म्यासेञ्जरमा ‘स्वप्नील सुवेदी’ नामको आइडीबाट उपमेयर शाहलाई ज्यान मार्ने धम्की दिइएको हो ।
शाहका अनुसार ५ दिनअघि म्यासेज आएको र सतर्क गराउनका लागि म्यासेज पठाइएको छ ।
धम्की आउनु २ दिनअघि मात्रै महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीसँग भनाभन भएको थियो ।
‘कार्यसम्पादनका क्रममा जनप्रतिनिधिलाई नगन्ने, म आफैंलाई मेयरका अघि तपाईं को हो ? भन्नेजस्ता अमर्यादित शब्दहरू बोल्नुभयो’, शाहले भनेकी छिन्, ‘धम्की आएपछि पनि मेयर तथा महानगरबाट कुनै पनि किसिमको गम्भीरता नदेखाइएकाले म मिडिया समक्ष आएकी छु ।’
शाहले बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा आफूलाई आएको धम्कीबारे जानकारी गराएको बताइन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उपमेयर शाहलाई आएको ज्यानमार्ने धम्कीका बारेमा के गर्दैछिन् केही बताइएको छैन ।
‘अनेरास्ववियु, युवा संघजस्ता संगठनको नाम लिइएको छ । चेतावनीपूर्ण भाषामा यसपटक सतर्क मात्रै गराएका हौं भनिएको छ’, शाहले भनिन्, ‘सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै प्रहरीमा बताएकी छु ।’
नेपाली कांग्रेस चितवनले भरतपुर महानगर उपप्रमुख तथा कांग्रेस नेतृ शाहलाई आएको ज्यान मार्ने धम्कीप्रति आपत्ति जनाएको छ ।
कांग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।
कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
यस्ता गतिविधि गर्नेमाथि कारबाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ । आउँदा दिनमा यस्ता घटना नदोहोर्याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत