‘बागमती सफाईमा जिम्मेवारीअनुसार काम भएन भने कारबाही’

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती नदी सफाईका लागि निश्चित समय तोकेर कार्यायोजना ल्याउन निर्देशन दिएका छन् ।

बागमती नदी मुलुककै लागि सभ्यताको पहिचान भएको भन्दै बढीमा अबको दुई वर्षभित्र बागमती सफाईको काम सक्ने गरी कार्ययोजना ल्याउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई मन्त्री राईले निर्देशन दिएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार बसेको समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री राईले भने, ‘दुई वर्षभित्रमा बागमती नदीको पानी सफा हुने गरी बिस्तृत कार्ययोजना ल्याउनुस्, प्रभावकारी काम भएन भने जिम्मेवारी लिएका सबैलाई कारवाही गर्न मन्त्रालय बाध्य हुनेछ । कसैले क्षमा पाउँदैनन् ।’

उनले भने, ‘बागमतीको पानी पिउन योग्न बनाउन समय लाग्ला तर नुहाउन योग्य बनाउने गरी कार्यायोजना ल्याउनुस् । मैले कहाँ गएर कुन मन्त्रालयसँग समन्वय गर्नुपर्छ त्यो गर्न म तयार छु ।’

मन्त्री राईले पहुँच र शक्तिकेन्द्रको प्रभावमा भन्दा पनि आवश्यकता र प्राथमिकताका आधारमा बागमती आयोजनाको काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिए ।

बागमती लगायतका नदीको सफाईमा लामो समयदेखि अहोरात्र खटिएका अभियान्तासँग समन्वय गरेर आवश्यकताका आधारमा बजेटको कार्यक्रम तय गर्न ध्यानाकर्षण गराउँदै मन्त्री राईले बागमतीका नाममा कसैले पनि राजनीति गर्न नहुने बताए ।

बैठकमा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिहंले सबै पक्षको समन्वयले बागमती सफाई अभियानले ३ सय हप्ता पार गरेको भन्दै यसलाई मुर्तरुप दिन आफ्नो मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने बताए ।

बागमती सफाईका अभियान्ताले शहरी विकास मन्त्रालयको नेतृत्वमा सफाई अभियानलाई अझै प्रभावकारी बनाएर लैजान आफूहरूलाई उत्साह मिलेको बताएका थिए ।

Published : Sunday, 2019 February 17, 10:17 pm

1 प्रतिकृया प्राप्त “‘बागमती सफाईमा जिम्मेवारीअनुसार काम भएन भने कारबाही’”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया