अनलाइन नवीकरणमा बखेडा नगर्न सरकारलाई पत्रकार महासंघको चेतावनी

काठमाडौं । नेपाल प्रकार महासंघले अनलाइन सञ्चारमाध्यमहरूको नवीकरण नगर्ने सूचना तथा प्रसारण विभागको कार्यप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

पत्रकार महासंघको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिअनुसार अनलाइन सञ्चारमाध्यमहरूको तत्काल नवीकरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

‘पत्रकार महासंघले अनलाइन मिडिया सञ्चालन गर्न सुशासन ऐनअन्तर्गत बनेको अनलाइन निर्देशिका खारेज गर्न माग गर्दै अनलाइन मिडियालाई पनि अन्य सञ्चारमाध्यम सरह मान्यता दिइ सञ्चार कानूनअन्तर्गत सम्वोधन गर्न जोडदार माग गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघले श्रमजीवी पत्र ऐन लागू गराउने र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन महासंघले चलाएको दबाबमूलक अभियानलाई थप प्रभावकारी र सशक्त ढंगबाट अघि बढाउने निर्णय पनि गरेको छ ।

त्यसका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको नेतृत्वमा र सूचना तथा प्रसारण विभागका प्रतिनिधि सम्मिलित अनुगमन टोलीमा महासंघका तर्फबाट चार जना प्रतिनिधि केन्द्रीय सदस्यहरू जन्मदेव जैसी, यम विरही, टीकाराम प्रधान र टेकराज थामीलाई पठाइएको महासचिव विष्टले जनाएका छन् ।

पत्रकार महासंघले साना लगानीका र स्वरोजगारमूलक मिडियाहरूको हित संरक्षणका पक्षमा महासंघले दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

नागरिकले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई उपभोग गर्न प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल प्रयोगलाई अवरोध पुर्‍याउने गरी कुनै कानून नल्याउन र सञ्चारसम्बन्धी कानूनहरू निर्माण गर्दा सरोकारवाला पक्षहरुसँग छलफल र सहमतिमा निर्माण गर्न पत्रकार महासंघ सरकारसमक्ष माग गरेको छ ।

पत्रकार महासंघले रौतहट शाखाका अध्यक्ष रविन्द्र साह र निवर्तमान सचिव राजेन्द्रकुमार क्षेत्रीलाई ४५ दिनका लागि निलम्बन गर्दै प्राप्त उजुरी र गुनासाहरूबारे छानबिन गर्न महासचिव रमेश विष्टको संयोजकत्वमा सचिव उजय जिएम र लेखासमिति सदस्य भुपेन्द्र आचार्य रहेको ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पत्रकार महासंघको यही फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजना हुने केन्द्रीय साधारणसभालाई ऐतिहासिक रुपमा सम्पन्न गर्न महासंघका प्रदेश समितिका पदाधिकारी, शाखा अध्यक्ष एवं सभासदहरूलाई सक्रिय सहभागिताका लागि आहृवान गरेको छ ।

साधारणसभाको उद्घाटन फागुन ९ गते दिउँसो ३ बजे पोखरा सभागृहमा हुनेछ ।

साधारणसभामा पत्रकार महासंघले ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार शिवहरिप्रसाद भट्टराई (सप्तरी), ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठ (काठमाडौं), ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ बलराम थापा (काठमाडौं), ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ गीता कुँवर (अछाम) र ‘उमासिंह पत्रकारिता पुरस्कार’ हिरालाल चौधरी (सिरहा)लाई समर्पण गर्ने निर्णय गरेको छ ।

Published : Sunday, 2019 February 17, 7:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया