पशुपति शर्माको पक्षमा कांग्रेसको सांस्कृतिक संघ उभियो, सांकृतिक आन्दोलन गर्ने

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघले गायक पशुपति शर्माको गीतमाथि भएको प्रहारविरुद्ध सांस्कृतिक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष तीर्थ थापाले आइतबार विज्ञप्ति जारी गरेर गीतमाथि प्रतिबन्ध लगाउने कम्युनिस्ट सरकारको यस किसिमको कार्यको निन्दा गरेका हुन् ।

‘सांस्कृतिक क्षेत्रको मानमर्दन र हस्तक्षेपबाट मुलुकको स्वाधीनता र स्वाभिमानमाथि आँच आउने हुँदा कम्युनिस्ट सरकारको विरोधाभासपूर्ण शैलीको घोर निन्दा र भर्त्सना गर्दछौं’, थापाले भनेका छन्, ‘नेपाल सांस्कृतिक संघले यसबारे ध्यानाकर्षण गराउँदै सांस्कृतिक आन्दोलनको उद्घोष गर्छ ।’

संघका अध्यक्ष थापाले भाषा, साहित्य, गीत, संगीत, कलाकौशल भेषभूषा रीतिथिति आदिले मुलुकको हरेक वर्ग र समुदायको प्रतिविम्बन गराउने हुँदा विश्वमा नेपालीले रुचाएका पशुपति शर्माको गीतमाथि गरिएको प्रतिबन्धबाट सकारात्मक सन्देश नजाने निश्चित रहेको जनाएका छन् ।

‘दुई तिहाइको दम्भ बोकेर आएको तथाकथित नेपाल कम्युनिस्ट पार्टीको सरकारले यो व्यंग्यात्मक गीतलाई प्रतिबन्ध गराउनुु निन्दनीय छ’, संघले भनेको छ, ‘सरकारको यो निर्णय प्रेस स्वतन्त्रताको मौलिक हक र लोकतन्त्रमाथि हस्तक्षेप तथा निरंकुशताको निकृष्ट उदाहरण भएको छ ।’

‘जुनसुकै राष्ट्रको प्रतिष्ठा र गौरव झल्काउने विषय सांस्कृतिक पहिचान हो । नेपाल वहुभाषी, बहुजाति, बहुसांस्कृतिक र बहुधर्म भएको ‘सांस्कृतिक एकता’ बोकेको विश्वमै उदाहरणीय समृद्ध राष्ट्र हो’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ संस्कृतिको संंरक्षण र सम्बद्र्धनबाट मात्र मुलुकको समृद्धि स्पष्ट हुन्छ । तर सांस्कृतिक क्षेत्रको स्वतन्त्रता र लगानीमाथि सरकार र सम्बन्धित निकाय उदासीन हुनु स्वयंमा खेदपूर्ण कार्य हो ।’

मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार जस्ता विसंगति र विकृतिका विरुद्ध सम्पूर्ण नेपाली जनताको जनचाहनाअनुरुप पशुपति शर्माद्वारा गायनबाट सार्वजनकि भएको व्यंग्यात्मक नेपाली गीतलाई दुई तिहाइको दम्भ बोकेर देखा परेको तथाकथित नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिबन्ध लगाउने कार्य घोर निन्दनीय रहेको विज्ञप्तिमा जनाइएको छ ।

Published : Sunday, 2019 February 17, 6:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया