नेविसंघको नेतृत्व लिन यी युवा नेताहरूको लविङ

काठमाडौं । नेपाली कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई आफूअनुकूल बनाउन पार्टीका शीर्ष नेताहरू नै लागिपरेका छन् ।

नैनसिंह महर नेतृत्वको कार्यसमितिको अवधि माघ २ देखि समाप्त भएपछि उनीहरू आआफ्नै पक्षको तदर्थ समिति बनाउन कस्सिएका हुन् ।

महर नेतृत्वको कार्यकाल भदौ २ मै सकिए पनि महाधिवेशन गर्ने प्रयोजनका लागि पहिलो पटक २ र दोस्रो पटक ३ महिना समय थपिएको थियो ।

कामचलाउमा परिणत भएको अहिलेकै कार्यसमिति लम्ब्याउने कि तदर्थ समिति बनाउने भन्नेमा संघ र पार्टी्भित्र मतैक्य छैन ।

पार्टी सभापति शेरबहादुर देउवा महरको कार्यक्षमताप्रति सन्तुष्ट छैनन् तर गृहजिल्ला डडेलधुराकै भएका कारण उनको विपक्षमा जान पनि तयार देखिँदैनन् ।

संस्थापनपक्षमै उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशरण महत महरको विकल्प खोजीमा छन् । तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने तर्क उनीहरूको छ ।

महामन्त्री पूर्णबहादुर खडका भने महर नेतृत्वकै समिति लम्ब्याउनुपर्ने पक्षमा छन् ।

निधि संघका वर्तमान महामन्त्री सरोज थापालाई तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गराउन नसक्ने भन्दै थापासहित संस्थापन पक्षका ९ जनाले सुरुमै राजीनामा दिएका थिए ।

उनीहरूको राजीनामा स्वीकृत भएको छैन । महर कार्यसमितिको कार्यकाल बढाउँदा उमेर–हदका कारण नेतृत्वको प्रतिस्पर्धाका लागि संघर्षरत दर्जनौं युवाको भविष्य डामाडोल हुने थापाको तर्क छ । संघको नेतृत्वमा ३२ वर्षसम्मका युवाले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था विधानमा गरिएको छ ।

संस्थापन पक्षबाटै पार्टी सहमहामन्त्री महत वर्तमान कार्यसमितिकै सहमहामन्त्री प्रेम जोशीलाई तदर्थ समितिको संयोजक बनाउने कसरतमा छन् ।

उनी संघको महाधिवेशन गराउन पार्टीबाट खटिएका निर्देशन समिति संयोजकसमेत हुन् । संस्थापन पक्षबाटै उपाध्यक्ष पुष्प शाही तदर्थ समितिको नेतृत्वका लागि राजीनामा दिएर बसेका छन् । उनी देउवापत्नी आरजुनिकट छन् ।

संस्थापन इतरपक्षमा पनि महरलाई नै थप समय दिने कि तदर्थ समिति बनाउने भन्नेमा एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल मनोजमणि आचार्यको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् ।

आचार्य महरसँगै संघको एघारौं महाधिवेशनमा प्रत्याशी बनेका थिए । पौडेलको यो अडानमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतको साथ छ ।

महामन्त्री शशांक कोइराला दुवैतिर ठिक्क छन् । तदर्थ समिति बनाए वा अहिलेकै कार्यसमितिलाई थप समय दिए पनि मान्य हुने उनको भनाइ छ ।

पौडेल पक्षीय अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्य भने जसरी पनि महरलाई हटाएर तदर्थ समिति बनाउन जुटेका छन् । उनीहरूले बिहीबार जुलुससहित सभापति देउवा र वरिष्ठ नेता पौडेललाई भेटेर कार्यकाल नबढाउन चेतावनी दिएका थिए ।

पौडेलनिकट पदाधिकारी तथा सदस्य गरी ४५ जनाले तदर्थ समितिको माग उठाएर राजीनामा दिएका छन् ।

संस्थापन समूहमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने महाधिवेशन गराउन महर नेतृत्वकै कार्यसमितिलाई अझै ६ महिना समय दिनुपर्ने पक्षमा छन् ।

सिटौला पक्षबाट वर्तमान संघको कार्यसमितिमा महामन्त्री कुन्दन काफ्लेसहित पदाधिकारी तथा सदस्यको संख्या ४० भन्दा बढी छ ।

तदर्थ समिति बनाउँदा यही अनुपातमा आफ्नो पक्षको प्रतिनिधित्व हुन नसक्ने ठानेर नै सिटौला वर्तमान कार्यसमितिको कार्यकाल बढाउने पक्षमा लागेको संस्थापनइतर एक केन्द्रीय सदस्यले बताए ।

Published : Sunday, 2019 January 20, 10:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया