ओलीका कारण देश खतरामा पर्यो, कांग्रेसले जोगाउँछः देउवा
स्याङ्जा । प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीले देखाएको बाटामा पार्टी अगाडि बढ्ने बताएका छन् ।
स्याङजा जिल्लाको पुतलीबजारस्थित पार्टीको जिल्ला कार्यालयमा शुक्रबार आयोजित अधिकारीको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै देउवाले शिवकुमारको आदर्शलाई कांग्रेसले भुल्न नहुने बताए ।
देश खतरामा पुगेको उल्लेख गर्दै देउवाले कुनै पनि संकटमा कांग्रेसले देश जोगाएकाले अबको पालो पनि कांग्रेसकै रहेको बताए ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रजातन्त्रको मूल्यमान्यतालाई कटौती गर्दै सर्वसत्तावादी शासन लाद्ने दुष्प्रयास गरेको देउवाले आरोप लगाए ।
वाम सरकारविरुद्ध संघर्षमा जानुपर्ने अवस्था आएको उनले बताए । निर्वाचनमा कांग्रेस एक नहुँदा हार बेहोरेको बताउँदै देउवाले पार्टीमा एकताको खाँचो रहेको बताए ।
‘पार्टी जुटेर गएमा आगामी निर्वाचनमा ठूलो बन्नेछ’, सभापति देउवाले भने, ‘पार्टीमा योगदान दिएका छुट्न हुँदैन ।’
श्रदाञ्जलि सभामा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोपालमान श्रेष्ठ, धनराज गुरुङ, प्रदीप पौडेल, पूर्वमन्त्री यज्ञबहादुर अधिकारी, पूर्वसांसद खगेन्द्रराज रेग्मी, संविधानसभा सदस्य राजु थापा, प्रदेशसभा सदस्य बिन्दु थापालगायतले बोलेका थिए ।
८९ वर्षीय अधिकारीको ब्रेन ट्युमरको उपचार क्रममा गत पुस १० मा निधन भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत