कांग्रेससँग कम्युनिस्टहरूले सिक्ने हो, सिकाउने होइनः प्रदीप पौडेल

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले विधिको शासनका बारेमा पूर्वएमाले र कम्युनिस्टहरूले कांग्रेसलाई सिकाउनु नपर्ने बताएका छन् । उनले कम्युनिस्टहरूलाई कांग्रेससँग लोकतान्त्रिक पद्धतिमा के गर्नुपर्छ भनेर सिक्न सुझाव दिए ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, ‘पूर्वएमालेका नेताहरूले कांग्रेसलाई विधि र सुशासनको कुरा सिकाउनु पर्दैन । कांग्रेसलाई च्यालेञ्ज पनि गर्नुपर्दैन ।’ उनले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राम्रो भाषण गर्दा उपलब्धी भयो भन्नेहरूका बारेमा धेरै आलोचना आवश्यक नरहेको बताए ।

‘खड्गप्रसाद ओलीजीले भाषण गर्दा नेकपाका नेताहरूले उपलब्धी भयो भन्छन् । त्यसलाई हामीले उपलब्धि मान्नुपर्ने हो ? ओलीले भन्दा राम्रो भाषण गर्ने धेरै छन् । ओलीले के काम गर्नुभयो ?’, कांग्रेसका नेता पौडेलले भने, ‘निर्वाचनमा भन्नुभयो कुरा र घोषणापत्र भनेको कुरा अहिलेसम्म के गर्नुभयो ?’

उनले भने, ‘कलंकी सडक बनाए भन्ने । मेलम्चीको पानी ल्याएँ भन्दैमा त्यसलाई उपलब्धी भन्न मिल्दैन । त्यसको सुरुवात कांग्रेसले गरेको थियो ।’ कांग्रेसले शुरुवात गरेका कामहरूलाई मैले गरेको हुँ भनेर ओलीजीले दुनियाँलाई ढाँटेको पौडेलले आरोप लगाए ।

‘ओलीले चीनका राष्ट्रपतिसँग हात मिलाउनु भएको उपलब्धी हो ? भारतसँग कुरा गर्नुलाई उपलब्धि भन्ने ?’, नेता पौडेलले भने, ‘नेकपाका नेताहरू र ओली स्वयंले चिनियाँ राष्ट्रपतिसँग हात मिलाएको विषयलाई उपलब्धी भनेर फलाक्दै हिँड्नु भएको छ ।’

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्री ओलीको सरकार निकम्मा सरकार बनिसकेको उनले बताए । ‘निर्मलाको हत्यारालाई संरक्षण गर्ने यो सरकारलाई कसले राम्रो भनेको छ ? कसैले राम्रो भनेको छैन’, उनले भने, ‘दिन प्रतिदिन ओलीजीको सरकार अलोकप्रिय बन्दै गएको छ ।’

डा.गोविन्द केसीको आन्दोलनलाई नेपाली कांग्रेससँग जोडर हेरिएकोमा नेता पौडेलले भने, ‘डा.गोविन्द केसीका राम्रा मागहरू कांग्रेसको समर्थन छ । आरोप लगाउनुपर्ने आवश्यक्ता छैन । मेडिकल शिक्षाको सुधारका लागि कांग्रेस सधैँ सजग र सचेत छ ।’

डा.गोविन्द केसीलाई शिक्षण अस्पतालबाट हटाउनुपर्ने भनेर कम्युनिस्टहरूले उठाएको मागका विषयमा उनले भने, ‘कम्युनिस्टहरूको दुई तिहाईको सरकार छ । डा.गोविन्द केसीलाई हिम्मत छ भने हटाए भैगयो नि । ०५१ सालमा एमालेले पनि कर्मचारीलाई सडकमा उतारेकै हो । अहिले गोविन्द केसीले आन्दोलन ग¥यो भनेर जागिरबाट हटाउने भन्ने ? हामी पनि हेरौँला ।’

Published : Saturday, 2019 January 12, 10:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया