कांग्रेसले भत्काइदियो ओली–प्रचण्डको लालकिल्ला

विराटनगर । मोरङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का झण्डै एक सय स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

बेलबारी नगरपालिका ११, लक्ष्मीमार्गमा नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेस मोरङका नेताहरूले टीका र सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको जनाएका छन ।

कांग्रेसका महासमिति सदस्य बसन्त भट्टराई, डा.सुनिल शर्मा, ललितबहादुर श्रेष्ठ, राजकुमार लिम्बुसहितका जिल्ला नेताहरूले आइतबार आयोजित कार्यक्रममा नेकपाका कार्यकर्तालाई कांग्रेसको सदस्यता दिएका हुन ।

बेलबारी नगरपालिका सत्तारुढ कम्युनिष्टहरूको लालकिल्लाका रुपमा परिचित छ ।

बेलबारी नगरपालिकामा वडा नं. ११ अर्थात कम्युनिस्टहरूको यही लालकिल्लाको भोटका कारण नेपाली कांग्रेस पराजित भएको थियो ।

बेलबारी नगरपालिकामा कांग्रेसको तर्फबाट राजकुमार लिम्बु मेयरमा उम्मेदवार बनेका थिए । उनै लिम्बुले कम्युनिस्टहरूको लालकिल्लालाई भत्काइदिएका छन ।

कम्युनिस्टहरूको यो लालकिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसलाई भोट कम आएको थियो । प्रदेशमा ललित श्रेष्ठ र प्रतिनिधि सभाका लागि सुनिल शर्माले उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेस बेलबारी नगरपालिका वडा नं. ११ का इकाई सभापति लोकबहादुर बस्नेतको सभापतित्वमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई कांग्रेसका इकाई वडा सचिव जितेन्द्र न्यौपानेले सञ्चालन गरेका थिए ।

Published : Monday, 2019 January 7, 8:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया