एसएसपीको हत्या प्रकरणमा रेशम संलग्न थिएः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नावालकसहित सुरक्षाकर्मीहरूको हत्याको आरोपी रेशमलाल चौधरीलाई किन सपथ गराइएको हो आफूलाई कुनै जानकारी नरहेको बताएका छन ।

टीकापुरमा हतियार विहीन सुरक्षकर्मीलाई हत्या गरिएको घटनाको देउवाले विरोध गरे । ‘रेशम चौधरीको सपथका विषयमा हामीलाई जानकारी नै थिएन’, विराटनगरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, ‘तर, हातहतियार नलिइ गएका प्रहरीका एसएसपीलाई टीकापुरमा काटीकाटी हत्या गरिएको प्रकरणमा रेशम चौधरी संलग्न थिए ।’

देउवाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरीलाई किन सपथ गराइयो भन्ने आफूलाई थाहा नभएको बताएका हुन् ।

उनले चौधरीलाई सरकारले किन सपथ गराएको हो आफूले बुझ्न नसकेको बताए । ‘सपथ किन खुवायो थाहा छैन’, देउवाले भने ‘टीकापुरमा विना हतियार गरएका प्रहरीमाथि आक्रमण भएको हो ।’

टीकापुर घटनाका प्रमुख अभियुक्त चौधरी पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा बिहीबार कम्युनिस्ट सरकारका प्रधानमन्त्री खडगप्रसाद ओलीको निर्देशनमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको हैसियतमा सपथ दिलाएका थिए ।

सभापति देउवाले वर्तमान सरकार असफल भएको दाबी गरे । दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने देउवाको भनाइ थियो । सभापति देउवाले पोस्टर टाँगेर अब देश नचल्ने भन्दै ओलीप्रति व्यंग्य गरेका छन ।

सभापति देउवाले नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको गलत क्रियाकलापको विरोध गरिरहेको बताए । उनले भने ‘तपाईहरू छाप्नु हुन्न, बोलेको बोल्यै छु त म ।’

उनले वाइडबडी प्रकरण र निर्मला हत्याकाण्ड जस्ता विषयले सरकारको बद्नाम भएको बताए । वाइड बडी विमान खरिद छानबिन प्रकरणमा सभापति देउवाले आफूले लेखा समितिको उपसमितिको प्रतिवेदन अध्ययन नगरेको बताए ।

उनले निर्माला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नसक्नु सरकारको लाचारीपन भएको बताए । ‘यो घटना सानो होइन’, देउवाले भने, ‘निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो विषय छाड्दैन ।’

कम्युनिस्ट सरकारले समायोजनमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने भनिरहेका बेला देउवाले भने कारबाही गर्नुभन्दा सुविधा बढाएर पठाउनुपर्ने बताए । देउवाले कर्मचारीलाई आतंकित बनाउनुभन्दा पनि उनीहरूलाई थप इन्सेन्टिभ दिनुपर्ने बताएका छन ।

Published : Friday, 2019 January 4, 10:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया