ओली सरकार रहँदासम्म जनताले दुःख पाउँछनः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले खडगप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारबाट जनता धेरै निराश भएको बताएका छन ।
गृहजिल्ला ओखलढुंगाका विभिन्न स्थानहरूमा शनिबार आयोजित कार्यक्रमहरूलाई सम्बोधन गर्दै खतिवडाले कम्युनिस्ट सरकारले जनताका अपेक्षा र आकांक्षाहरूमा तुषारापात गरेको आरोप लगाए ।
ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका बेला जनता समक्ष गरेका आश्वासन, प्रतिवद्धता र कम्युनिस्ट पार्टीको घोषणा पत्र कार्यान्वयन भयो कि भएन भनेर कांग्रेसले सधै निगरानी गर्ने उनले बताए ।
‘निर्वाचनका बेला खडगप्रसाद ओलीजीले के भनेर भोट माग्नु भएको थियो ? अहिले उहाँले सबै कुरा भुल्नुभयो’, खतिवडाले प्रश्न गर्दै भने, ‘जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई भोट पनि दिए । तर, भोटको बदलामा ओलीजीले जनतालाई राहत होइन आहत दिनुभएको छ । जनताले ओलीजीका सबै कुरा बुझेका छन ।’
नेपाली कांग्रेसले वृद्ध भत्ताका लागि उमेर घटाएको प्रसंग कोटयाउँदै नेता खतिवडाले भने, ‘वृद्ध–वृद्धाका लागि कांग्रेसले उमेर घटाएको थियो । समय सापेक्ष निर्णय गरिएको थियो । ओलीजीले राजनीतिक प्रतिशोध साँधेर त्यो प्रावधान हटाइदिनुभयो । उमेर बढाइदिनुभयो । निर्वाचनका बेला पाँच हजार वृद्ध भत्ता बढाएर घरघरमा आएर खनखनी गनेर हातहातमा दिने भन्नुभएको थियो । वृद्ध भत्ता घरमा दिने त के उहाँले बढाउनु भएन । गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई कांग्रेसले आजीवन आर्थिक सहयोग गर्ने भनेर निर्णय गरेको थियो । ओलीजीले त्यो पनि काटिदिनुभयो । आफना कार्यकर्तालाई मात्रै पैसा बाँडनु भएको छ ।’
कम्युनिस्ट सरकार र मन्त्री तथा नेताहरू अहिले आफनो व्यक्तिगत स्वार्थमा कमाउ धन्दामा लागेको कांग्रेस नेता खतिवडाको आरोप थियो ।
‘जनताका काम गर्नेभन्दा पनि कम्युनिस्ट सरकारका मन्त्री र नेताहरू कमाउ धन्दातिर लाग्नुभएको छ’, उनले भने, ‘देशमा शान्ति सुरक्षा छैन । हज्जारौँ निर्मला पन्तहरूले न्याय पाएका छैनन । यो देशमा सरकार छ कि छैन भन्ने कुनै अनुभूति हुन छाडेको छ ।’
कांग्रेसको नेतृत्वको पालामा भएका विकासका कार्यक्रमलाई मैले गरेको हुँ भनेर प्रधानमन्त्री ओली र मन्त्रीहरूले भन्ने गरेको बताउँदै नेता खतिवडाले भने, ‘खडगप्रसाद ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भैसक्यो । जति धेरै सत्तामा रह्यो त्यति धेरै देश र जनतालाई नोक्सानी हुन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत