कांग्रेसले कम्युनिस्ट सरकारका ‘भ्रष्ट’हरूलाई नछाडने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणमा झन कठोर बन्दै गएको संकेत गरेको छ ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गत वाइड बडी विमान खरिद प्रकरणको भ्रष्टाचारबारे छानविन गर्न गठित उपसमितिले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रविन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटालाई बोलाएर जानकारी माग गरेको हो ।

नेपाली कांग्रेसका सांसद तथा उपसमितिका संयोजक राजन केसीले मन्त्री र सचिवसँग वाइड बडी विमान खरिदमा भएको अनियमिततका विषयमा एक–एक जानकारी माग गरेका हुन ।

बैठकमा मन्त्री अधिकारीले महालेखा परीक्षक टंकमणि शर्मालाई वाइड बडी विमान खरिदमा दोषी भएको आरोप लगाएका छन । उनले भने, ‘महालेखा परीक्षकको सल्लाहबमोजिम नै भुक्तानी दिइएको थियो ।’

महालेखाको प्रतिवेदन सार्वजनिक भइसके पछिमात्रै वाइड बडी विमान नेपाल ल्याइएको थियो ।

यो निर्णय अघिल्लो सरकारले गरेको भएपनि जहाजलाई दिनुपर्ने भुक्तानी मन्त्री अधिकारीको पालामा भएको थियो । मन्त्री अधिकारीको नाम पनि वाइड बडी विमान खरिद भ्रष्टाचार प्रकणमा जोडिएको छ ।

वाइड बडी विमान खरिद प्रकरणमा अनियमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख भइसकेको थाहा हुँदाहुँदै पनि पर्यटन मन्त्रालयले किन जहाजको भुक्तानी दिएको भनेर मन्त्री अधिकारीसँग सांसदहरूले कठोर प्रश्न गरेका थिए ।

कांग्रेसका सांसद तथा उपसमितिका संयोजक राजन केसीले वाइड बडी विमान फुटबल किनेको हो र ? भनेर मन्त्री अधिकारीसँग प्रश्न गरेका थिए ।

नेपालको इतिहासमै ठूलो रकमको जहाज किनिएको भए पनि सरकारले फुटबल किनेजसरी किनिएको संयोजक केसीले बताएका छन ।

जहाज किन्न सरकारले हतार गरेका कारण पनि शंका उत्पन्न भएको संयोजक केसीको भनाइ छ ।

जहाजको भारवहन क्षमताबारे २४० टनको ल्याउने भनेर उल्लेख गरिए पनि २३० टनको किन ल्याइएको भनेर सांसदहरूले मन्त्रीलाई प्रश्न गरेका थिए ।

संयोजक केसीले मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा गैरजिम्वेवारीपूर्ण तरिकाले प्रस्तुत भएको समेत आरोप लगाए ।

उपसमितिकी सदस्य एवं सांसद मीना सुब्बाले विमान खरिदमा ठूलो आर्थिक चलखेल भएको बताइन् ।

Published : Tuesday, 2018 December 25, 8:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया