एक वर्ष बाँकी रहँदै कांग्रेसभित्र उठ्यो महाधिवेशनको माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशन प्रक्रिया सुरु गर्न माग गरेको छ ।

सभापति शेरबहादुर देउवाले कार्यकाल एक वर्ष लम्ब्याउन खोजेको आशंकासहित पौडेल समूहले महाधिवेशनको तयारी गर्न आग्रह गरेको हो ।

प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार बसेको पौडेल समूहको गोप्य बैठकले देउवाले एक वर्ष कार्यकाल लम्ब्याउन चाहेको निष्कर्ष निकालेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले समयमै महाधिवेशन गर्नुपर्ने माग गरे । उनले समय भइञ्जेल केही नगर्ने, समय बितेपछि विशेष परिस्थिति देखाएर कार्यकाल बढाउन नपाइने बताए ।

कांग्रेस विधानमा विशेष परिस्थितिका कारण महाधिवेशन हुन नसक्ने अवस्था भए थप एक वर्ष कार्यकाल बढाउन पाइने व्यवस्था छ ।

सभापतिले विधानको यही व्यवस्था टेकेर कार्यकाल बढाउँदै आएका थिए । देउवा नेतृत्वमा आएको फागुनबाट तीन वर्ष बित्दै छ ।

समयमै महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तत्कालै सुरु गर्नुपर्ने पौडेल समूहको माग छ ।

पौडेल समूहले पदाधिकारी संख्या बढाउनुपर्नेमा माग अगाडि सारेको छ ।

पौडेल समूहले सभापति, उपसभापति ३, महामन्त्री ३, सहमहामन्त्री ३ र कोषाध्यक्षसहित ११ सदस्यीय पदाधिकारी संख्याको प्रस्ताव गरेको छ ।

केन्द्रीय कार्यसमितिको आकार कत्रो बनाउने, पदाधिकारी संख्या बढाउने कि नबढाउने, पदाधिकारी निर्वाचन गर्ने कि मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन समिति कत्रो बनाउने, सदस्यता कस्तो राख्ने, सभापतिको मनोनयन कति प्रतिशत राख्ने, पार्टी एकल नेतृत्वमा चल्ने या सामूहिक पद्धतिमा जाने, विशेष परिस्थितिको व्याख्या केन्द्रीय कार्यसमितिको साधारण बहुमतबाट गर्ने कि दुई तिहाइ समर्थनबाट भन्ने मुख्य विवादित विषय छ ।

पौडेल समूहले सभापतिलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने अधिकार कुल निर्वाचित सदस्य संख्याको १५ प्रतिशतभन्दा बढी दिन नहुने, १५ सदस्यीय संसदीय समिति बनाउने, विशेष परिस्थितिको व्याख्या सहमतिबाट कि दुई तिहाइ सदस्यको समर्थनबाट मात्रै हुनुपर्ने मागलाई प्रमुखतासाथ राख्ने निर्णय लिएको छ ।

Published : Monday, 2018 December 10, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया