विदेशतिर उत्पात गर्ने यी राजदूतलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानविन गर्न माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गरेर राजदूत शेर्पाले मानव तस्करी गरेको आरोपका विषयमा सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाहीको माग गरेका हुन् ।

राजदूत शेर्पालाई मानव तस्करीमा संलग्न भनी उठेको प्रश्नमा कम्युनिस्ट सरकारले चासो नदिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

राजदूत शेर्पाका चालकले मानव तस्करीमा संलग्न भएको भन्दै प्रमाणहरू मिडियोमार्फत सार्वजनिक गरेका छन् । राजदूत शेर्पाविरुद्ध कम्युनिस्ट सरकारले अनुसन्धान नगरेर मौन बस्नुलाई कांग्रेसले गम्भीर रुपमा लिएको शर्माले बताए ।

प्रवक्ता शर्माले शेर्पामाथि छानबिनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्न माग गरे ।

‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो’, शर्माले भनेका छन्, ‘अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं ।’

तत्कालीन माओवादी केन्द्रको सिफारिसमा राजदूत बनेकी शेर्पालाई आफ्नै चालक ओन्छु शेर्पाले मानव तस्करी गरेको अभियोग लगाएका छन् ।

राजदूत शेर्पाविरुद्ध ओन्छुले विभिन्न प्रमाणहरू बाहिर ल्याएका छन् । राजदूत शेर्पाले आफ्ना पतिलाई मानव तस्करीमा संलग्न गराएको चालक ओन्छुको आरोप छ ।

Published : Wednesday, 2018 December 5, 5:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया