देश टुक्र्याउँछु भन्ने बिखण्डनकारीलाई ठाउँ छैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संघीयता भनेको राम्रो वा नराम्रो भन्दा पनि यसलाई उपभोग कसरी गर्ने भन्नेमा भरपर्ने बताएका छन् ।

ललितपुरको एउटा निजी स्कुलका ८ देखि १० कक्षासम्मका विद्यार्थीसँगको अन्तरक्रियामा थापाले संघीयता आफैमा नराम्रो व्यवस्था नरहेको बताए ।

‘संघीयता राम्रो वा नराम्रो केही पनि होइन । संघीयतालाई हामीले कसरी चलाउँछौँ त्यसमा भरपर्छ’, उनले भने, ‘चलाउन सक्यौँ भने संघीयता राम्रो हो । होइन भने राम्रो व्यवस्था भनिएको व्यवस्थाहरू पनि नराम्रो भएका छन् । संघीयता बरदान पनि हुन्छ । संघीयता अभिसाप पनि हुन सक्छ ।’

संघीयतालाई सफल बनाउनुपर्ने भन्दै नेता थापाले कुनै पनि व्यवस्थालाई सफल बनाउने दायित्व सबैको हातमा रहने उल्लेख गरे ।

अधिकारका लागि कसैले आवाज उठाउँछ भने त्यो जायज रहने भन्दै कांग्रेसका नेता थापाले भने, ‘प्रदेश २ को मुख्यमन्त्रीले अधिकार पुगेको छैन भन्नु हुन्छ भने अधिकारका बारेमा छलफल गर्न सकिन्छ । तर, कसैले देश नै अलग चाहिन्छ भन्छ भने त्यो अराष्ट्रिय तत्व हो । विखण्डनकारीलाई यो देशमा ठाउँ छैन ।’

सीके राउतले अलग देशको माग गरेको सन्दर्भमा विद्यार्थीले सोधेको जिज्ञासामा कांग्रेस नेता थापाले भने, ‘देश टुक्र्याउँछु भन्नेहरू अराष्ट्रिय तत्व हो । विखण्डनकारीलाई ठाउँ छैन । त्यसका विरुद्ध हामीले एक भएर जवाफ दिनुपर्छ ।’

प्रदेश २ को मुख्यमन्त्रीले कर्मचारी माग गरेर दिएको अभिव्यक्ति जायज रहेको थापाले बताए । ‘केन्द्र सरकारले कर्मचारी दिँदैनौ भने खाडीमा रहेका मेरो प्रदेशका जनतालाई बोलाएर रोजगारी दिन्छु भन्नु ठीक छ’, उनले भने, ‘कर्मचारी पनि नदिने ? नयाँ कर्मचारी भर्ना गर्न पनि नदिने ? यस्तो गर्न पाइँदैन ।’

नेपाल र नेपालीलाई ‘सलाद’ जस्तै मिलेर बसेको बताएका नेता थापाले नेपालमा सबैको आफ्नै पहिचान रहेको बताए ।

‘सलादमा सबै मिसिएको हुन्छ । नेपालमा पनि सबै जातजाति, भाषाभाषी बस्छन् । राई, लिम्बु, बाहुन, मगर, थारु, क्षेत्री, यादव, आदि मिसिएर बसेका छन्’, उनले भने, ‘विभिन्न जातजाति मिलेर बसेका छौँ । नेपालीहरू राष्ट्रियता जात, धर्मको नाममा कसैले राजनीति गर्छ भने त्यसले नेपाली राष्ट्रियता खतरामा पर्छ ।’

Published : Sunday, 2018 November 25, 12:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया