विद्या भण्डारीमाथि कांग्रेसको मोह भङ्ग, अफ्ठ्यारोमा कम्युनिस्टहरू

काठमाडौं । नेपाली कांग्रेस नेता डा.मीनेन्द्र रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले लोकतन्त्रमाथि संकट परेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.रिजालले लोकतन्त्रमा राष्ट्रपति भण्डारीले बलमिच्याइँ गरेर आफ्नो शक्ति देखाएको बताए ।

‘लोकतन्त्रमा सर्वसत्तावाद हाबी हुन खोजेको छ’, उनले भनेका छन, ‘राष्ट्रपति र कम्युनिस्ट सरकारले बलमिच्याइँ गर्न खोजेका छन्, दशैँको टीका लगाउने बेला राष्ट्रपतिले नागरिक जनतालाई घुँडा टेकाएर गणतन्त्रमाथि दुर्व्यवहार र अपमान गरिएको छ ।’

कांग्रेस नेता डा.रिजालले वर्तमान कम्युनिस्ट सरकारले बिखण्डनवादी शक्तिलाई बढावा दिएको आरोप पनि लगाए । ‘यो सरकार लोकतन्त्रको अर्थ नबुझेर ०६२–६३ को उपलब्धिलाई खत्तम गर्ने गरेर काम गरिरहेको छ’, डा.रिजालले भने, ‘दशैँका बेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको क्रियाकलापले लोकतन्त्रमाथि ठूलो प्रहार भएको छ ।’

कांग्रेसले जनतामाथि हुने कुनै पनि प्रकारको दर्व्यवहारको समर्थन गर्न नसक्ने कांग्रेस नेता डा.रिजालले बताए । उनले यस्ता हर्कत अन्त्य गर्न कम्युनिस्टहरूलाई चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस कमजोर नरहेको उनले बताए । संसदमा कांग्रेस २२ प्रतिशतको उपस्थितिमा रहेको बताए । संसदमा कम्युनिस्ट झण्डै दुई तिहाई रहेको भन्दै डा.रिजालले भने, ‘सरकारले काम गर्नुपर्छ । कम्युनिस्टहरूलाई छुट छैन । प्रतिपक्ष हुँदैमा कांग्रेसले तोडफोड गर्नुपर्छ भन्ने मान्यता छैन । हामी त्यस्तो गर्दैनौँ । तर, सरकारलाई खबरदारी हुन्छ ।’

‘लोकतान्त्रिक प्रक्रिया र पद्धतिमा कांग्रेसले विश्वास गर्छ’, कांग्रेस नेता डा.रिजालले भने, ‘कांग्रेसले लोकतन्त्रलाई मात्रै अनुसरण गर्छ । कांग्रेसभित्र अराजकता छैन ।’

पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘गणेशमान, गिरिजाप्रसाद हुँदा कांग्रेसभित्रको गुटलाई व्यवस्थापन भएको थियो’, डा.रिजालले भने, ‘तर, अहिले गुटलाई मिलाउन सकिएको छैन । कमीकमजोरी भएको छ । यसलाई मिलाउनुपर्छ ।’

Published : Saturday, 2018 October 27, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया