ओली–प्रचण्डको गोप्य सर्कुलर बाहिरियो
काठमाडौ. । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले विशेष सर्कुलर जारी गरेका छन् ।
अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट फर्केको २ दिनपछि र अर्का अध्यक्ष ओली अमेरिका भ्रमणमा जानुभन्दा २ दिनअघि भएको केन्द्रीय सचिवालयको बैठकपछि सर्कुलर जारी गरिएको हो ।
असोज ५ गते बसेको सचिवालयको १३औँ बैठकले सातै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गरेको थियो ।
बैठकले जिम्मेवारी पाएका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवहरूले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म गर्नुपर्ने ७ जिम्मेवारी समेत तोकेको छ ।
सर्कुलरमा प्रदेशका ईञ्चार्ज, सह–ईञ्चार्ज, अध्यक्ष र सचिवहरूको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरूको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने निर्देशन दिइएको छ ।
सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरूसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने उल्लेख छ ।
आफ्नो तह र मातहतका पार्टी कार्यालयहरूलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने तथा मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ ।
पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने र केन्द्रीय सचिवालयमा बुझाउने, ५ प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने, प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने सर्कुलरमा उल्लेख छ ।
उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
सर्कुलरमा पार्टी केन्द्रबाट यथासक्य चाँडो प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका साथै थप मापदण्डहरू पठाइने पनि जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत