निर्मलालाई न्याय माग्दै कांग्रेसका महिलाहरूले आइतबार देशभरि दवाव दिने
काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै असोज ७ गते आइतबार ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
महिला संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कम्युनिस्ट सरकारले निर्मला बलत्कार र हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाएको छ । संघकी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य उमा रेग्मीले निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाइन् ।
‘यतिका दिन भैसक्यो, सरकारले निर्मलाका वास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन्’, उनले भनिन्, ‘दोषीलाई कतै सरकारले त संरक्षण गरेको छैन ?’
निर्मला पन्तको हत्यारका दोषीले उन्मुक्ति नपाउन् भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताइन् । ‘घट्ना यत्तिकै डिसमिस हुने खतरा देखिएकाले हामीले आइतबार दिनको ठीक १२ बजे ७७ वटै जिल्लामा सरकारको व्यतिथिका विरुद्ध विरोध र्यालीसहित प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउने छौं’, उनले भनिन् ।
अध्यक्ष रेग्मीले महिला अस्मितामाथि दिन प्रतिदिन प्रहार भैरहेकाले आइतबार ‘टोकन स्ट्राइक’को रुपमा देशैभरिका जिल्ला प्रशासन अगाडि प्रदर्शन गर्न लागेको बताइन् ।
कञ्चनपुर घट्नामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको उनको आरोप लगाइन् ।
पत्रकार सम्मेलनमा महासचिव मञ्जु खाँण, सचिव उषा राउत, केन्द्रीय सदस्यद्वय गंगा अवाल र गोमा भट्टराईको पनि उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत