ओलीले कार्यकर्तालाई उत्तेजित गरेर जनतालाई आतंकित बनाएः कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिन कार्यकर्तालाई दिएको निर्देशनलाई आतंकको संज्ञा दिएका छन् ।

जनकपुरमा आइतबार आयोजित कार्यक्रममा निधिले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धति अनुसार वैचारिक र राजनीतिक प्रतिवादको कुरा नगरी कार्यकर्तालाई उत्तेजित बनाएर आतंक मच्चाउन खोजेको आरोप लगाए ।

उनले ओलीको अभिव्यक्तिलाई जर्मन तानाशाह हिट्लर र युगाण्डाका इदी अमिनको जस्तै अन्तार्राष्ट्रिय मानवता विरोधी अपराध जस्तै भएको आरोप लगाए ।

लोकतान्त्रिक शासन व्यवस्थामा संविधान र कानून बमोजिम राज्य संचालनको जिम्मेवारी लिएर बसेका प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिँदै आक्रमण गर्न र उनीहरूलाई परास्त गर्न आदेश दिएर अन्तर्राष्ट्रिय मानवता विराधी गतिविधिलाई प्रोत्साहन गरेको उनले बताए ।

ओलीले भनेका थिए, ‘त्यसकारण हामी एकजुट एउटा अरिंगाललाई चलाउनु भयो सिंगै गोलो खनिन्छ । कहिले काहीँ यस्तो लाग्छ त्यो अरिंगालको जत्ति पनि बुद्धि छ कि छैन हामीसँग ? अरिंगालको गोलोमा एउटालाई मार्यो भने सिंगै गोलो त्यसविरुद्ध खनिन्छ ।’

ओलीले दिएको अभिव्यक्तिलाई कांग्रेस नेता निधिले अरिंगाल आक्रमण भन्नु सानो विषय नरहेको बताए ।

अन्तर्राष्ट्रिय यद्धमा पनि हिट्लरको ग्याँस च्याम्बर र युगाण्डाका शैनिक तानाशाह इदी अमिनले गरेको मानवता विराधी यताना जस्तै जंगली विषालु किराको प्रयोग पनि मानवता विरोधी युद्ध अपराध नै भएको बताउँदै निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले उनी हिट्लर र इदी अमिन जस्तै बन्न खोजेको आरोप लगाए ।

Published : Sunday, 2018 September 16, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया