काठमाडौंमा घुससहित अहिलेसम्मकै धेरै प्रहरीहरू पक्राउ

काठमाडौं । काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ९ जना प्रहरी कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत ठिमीमा कार्यरत सुवास ढुंगानासहित ९ जना रहेका छन् ।

प्रहरी सहायक निरीक्षक श्रेष्ठलाई ३० हजार घुस रकम सहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट अख्तियारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुम्बिनी तन्दुरी भोजनालयबाट आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेललाई पनि नियन्त्रणमा लिएको छ । पटेलको साथबाट ५ हजार घुस रकम बरामद भएको छ ।

काँडाघारीबाटै सातजना प्रहरी पनि घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुईजना प्रहरी सहायक निरीक्षक, दुई हवल्दार र चार जना प्रहरी जवान रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

प्रहरी कर्मचारीहरूले मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै ठेकेदारसँग घुस मागेका थिए । पक्राउ परेकाहरूको साथबाट एक लाख नगद बरामद भएको छ ।

बालुवाको सेटिङ मिलाईदिने भन्दै घुस रकम लिँदै गरेको अभियोगमा पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग ठिमीका हवल्दार दीपक भारती, काँडाघारी प्रभागका जवानद्वय मानसिंह रोका र रत्न रिजाल पनि छन् ।

Published : Saturday, 2018 September 15, 8:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया