सल्यानका यी मेयरविरुद्ध आफ्नैले बनाए संघर्ष समिति

सल्यान । सल्यानको बागचौर नगरपालिकाको वडा नम्बर ७ मा मेयर लोकमान बुढाथोकीको दवावमा सडकको नक्सा परिवर्तन भएपछि स्थानीयले विरोध गर्न संघर्ष समिति बनाएका छन् ।

बुढाथोकी पूर्वमाओवादी केन्द्र मेयरमा विजयी भएका हुन् । वडा नम्बर ७ मा रहेको सडकको नक्सा परिवर्तन गरिएपछि आफ्नै दलका नेता र स्थानीयले बुधबार संघर्ष समिति बनाएका हुन् । स्थानीयले बुढाथोकीका विरुद्ध दैनिक सरह भण्डाफोर गर्दै आएका छन् ।

कोडबाडामा भएको भेलाले डिल्लीबहादुर बुढा (दिल्ली)को अध्यक्षतामा २९ सदस्यीय संघर्ष समिति पनि बनाइएको छ । समितिको उपाध्यक्षमा नेपबहादुर ओली र सचिवमा खड्गबहादुर खड्का रहेका छन् ।

संघर्ष समितिका संयोजक डिल्लीबहादुर बुढाले सडक कालोपत्रे गर्ने बेला मेयर र वडाध्यक्ष मिलेर सडकको नक्सा परिवर्तन गरेको आरोप छ ।

सडकको पुरानो नक्सा परिवर्तन नगर्न दवाव दिन संघर्ष समिति बनाएको संयोजक बुढाले बताए । मेयर बुढाथोकीको निर्णयलाई कुनै पनि हालतमा आफूहरूले स्वीकार गर्न नसक्ने चेतावनी दिए ।

मेयर बुढाथोकीले वडाध्यक्ष शेरबहादुर घर्तीलाई पनि सडकको नक्सा परिवर्तन गरेर कालोपत्रे गर्न दवाव दिएको स्थानीयको आरोप छ ।

दवावमा सडकको नक्सा ३ किलोमिटर परिवर्तन गरेर मेयर साथी शोभाराम भण्डारीको घर अगाडिबाट सडक कालोपत्रे गरिन लागिएको स्थानीयको आरोप छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता धनराज चन्दले जनताले निर्माण गरेको सडकको नक्सा परिवर्तन गर्नेहरूका विरुद्ध स्थानीय जनता सडकमा आएको बताएका छन् ।

‘केही जनप्रतिनिधि हौँ भन्नेहरूले सडकको नक्सानै परिवर्तन गरेका छन्’, चन्दले भने, ‘जनताले बनाएको सडक बिगार्न पाइँदैन ।’

Published : Thursday, 2018 September 13, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया