समाचार लेखेकै कारण पक्राउ गर्नु अधिनायकवादः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पत्रकार राजु वस्नेतलाई तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न कम्युनिस्ट सरकारलाई सचेत गराएको छ ।

‘जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरू संशोधन गर्ने प्रकृया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढंगले स्वतन्त्र प्रेसको अक्षुणता कायम राख्ने दिशामा अग्रसरताका लागि अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि–प्रक्रिया आजको लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको जनाएको छ ।

केही समय यता राज्यसंयन्त्रनै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन ‘अधिनायकवाद उन्मुख’ प्रवृत्तिको श्रृंखलालाई पुष्टि गर्दै गएको कांग्रेसले जनाएको छ ।

पत्रकार राजु वस्नेत माथिको आपत्तिजनक व्यवहारलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

‘हामी राज्यको सार्वजनिक जवाफ चाहन्छौं – संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिविका हातामा हतकडी हो ? द्वन्द्वकालमा यो या त्यो पक्षबाट पत्रकारहरू प्रताडित भएको घटनाको तितो स्मृति हामी सबै थरीको मानसपटलमा जीवित छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘बदलिएको परिस्थितिमा पनि पत्रकारहरूले निरन्तर पीडा भोग्नु परेको चित्र दुखद त छ नै अत्यन्तै गम्भीर पनि छ ।’

Published : Wednesday, 2018 September 12, 5:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया