पक्राउ परेका पत्रकारलाई छाड्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियनले समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गरेको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरेको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले मंगलबार विज्ञप्ति जारी गरेर खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पुनः नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका हुन् ।

पत्रकार बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट भदौ २४ गते पक्राउ पुर्जीका लागि आदेश लिएर पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको सिवाकोटीले बताए ।

‘सूचना विभागमा दर्ता भर्इ प्रेस काउन्सिलमा सूचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा नलगाउने मान्यता विरुद्ध एवं सो ऐनमा आकर्षित नै नहुने विषयमा राज्यसत्ताको चरम दुरुपयोग गरी पत्रकारलाई अनावश्यक दुःख दिने र धरपकड गर्ने पूर्वाग्रही सोच र मनसाय अनुसार पत्रकार बस्नेतलाई पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ’, सिवाकोटीले भनेका छन् ।

सरकारले आफ्ना कमजोरी र भ्रष्टाचारका विषयहरू लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ऐन र अदालतको दुरुपयोग गर्दै राज्यसत्ताको शक्तिको आडमा आक्रमणमा उत्रिएकोप्रति युनियनले भत्सर्ना गरेको छ ।

‘एकपछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि सरकारले गरिरहेको दमन, विभेद र पक्राउ जस्ता अत्यन्तै आपत्तिजनक घटनाको युनियन निन्दा गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

‘प्रकाशित वा प्रशारित समाचारका बारेमा असहमति भए नेपाल प्रेस काउन्सिल मार्फत खण्डन प्रकाशित गर्ने वा अन्य कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र विद्युतीय कारोबार ऐन मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस तथा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण भएको नेपाल प्रेस युनियनको ठहर छ’, महासचिव सिवाकोटीले भनेका छन्, ‘घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मी राजु बस्नेतलाई विना शर्त रिहाइ गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।’

Published : Tuesday, 2018 September 11, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया