दाङमा कांग्रेसको नमूना पार्टी कार्यालय बन्ने, सभापतिले दिए शुभकामना
काठमाडौं । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले सुविधा सम्पन्न पार्टी कार्यालय बनाउने भएको छ ।
भदौको दोस्रो हप्तासम्म देउखुरीको लमही नगरपालिकामा पार्टी कार्यालयको शिलान्याश गर्ने तयारी भएको क्षेत्रीय सभापति भोषराज पाण्डेले जानकारी दिए ।
‘भदौको दोस्रो साता शिलान्याश गर्ने गरेर तयारी भइरहेको छ’, उनले भने, ‘सभापति शेरबहादुर देउवासँग भेटेर शिलान्याशका लागि आग्रह गरेका छौँ । उहाँले आउँछु भन्नुभएको छ ।’
क्षेत्र नं. १ का सभापति पाण्डे नेतृत्वको पूर्वसांसद, सांसद र युवा नेताहरूको टोलीले बुधबार सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य दीपक गिरीसँग अलग–अलग भेट गरेर पार्टी कार्यालयको भवन बनाउन लागेको विषयमा जानकारी गराएको छ । देउवा र गिरीले पार्टी कार्यालय बनाउन आफ्नो तर्फबाट हुने सबै सहयोग गर्ने आश्वासन दिएको पूर्वसांसद योगेन्द्र चौधरीले जानकारी दिए ।
टोलीले दाङबाट प्रतिनिधित्व गर्ने सबै सांसद र केन्द्रीय सदस्यहरूलाई भेटेर निम्तो दिनेछ । केन्द्रीय सदस्यद्वय पार्वती डिसी चौधरी र शिला खड्का एवम् सांसद अनिता देवकोटालाई पनि पार्टी कार्यालय शिलान्याशको जानकारी दिइनेछ ।
लमहीको रातोडाँडास्थित टाउन प्लानिङमा कांग्रेसले दुई कठ्ठा जग्गा किनेको छ । साढे दुई तलाको भवनको नक्सा बनाइएको छ । भवन भित्रै झण्डै पाँच सयजना अट्ने गरेर हलको व्यवस्था पनि गरिएको छ । भवन निर्माणका बेला पार्किङ र अन्य पूर्वाधारहरूमा पनि ध्यान दिइनेछ ।

क्षेत्रीय सभापति पाण्डेका अनुसार पार्टी कार्यालयमै गेस्ट हाउसको व्यवस्था गर्न लागिएको छ । कांग्रेसका केन्द्रीय नेताहरू दाङमा आउँदा होटेलमा बस्नु नपारेस् भनेर पार्टी कार्यालयकै गेस्ट हाउसमा राख्ने गरी नक्सा डिजाइन भएको छ ।
झण्ड एक करोड ५० लाख खर्च लाग्ने प्रारम्भीक अनुमान क्षेत्रीय सभापति पाण्डेको छ । पार्टी कार्यालय बनाउन आर्थिक सहयोग गर्न दाङ कांग्रेस क्षेत्र नं. १ ले शुभेच्छुकहरूसँग अपील गरेको छ ।
पार्टी कार्यालय निर्माणका लागि तयारी र सभापतिका साथै केन्द्रीय नेताहरूलाई निम्ता दिन क्षेत्रीय सभापति पाण्डेको नेतृत्वमा एउटा टोली काठमाडौं आएको छ ।
टोलीमा पूर्वसांसद योगेन्द्र चौधरी, पूर्वसांसद सुशीला चौधरी, सांसद विमल नेपाली, नेताद्वय प्रदीप थापा र मधु न्यौपाने एवम् युवा नेता प्रताप खड्का छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत