कांग्रेसभित्रको गुट अन्त्यको अभियान शुरु भइसक्योः देउवा

मन्थली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको बताएका छन् ।

नेपाल प्रेस युनियन रामेछापले शनिबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘अब कुनै गुट रहँदैन, त्यसैका लागि म दौडिरहेको छु ।’ उनले कांग्रेसलाई बलियो र ठूलो दल बनाएरै छाड्ने बताए ।

सभापति देउवाले मुलुकमा एकदलीय तानाशाहको उदय हुने संकेत आएको भन्दै त्यसका विरुद्ध कांग्रेसले सडक र सदन दुवैतिर आन्दोलन गर्ने बताए ।

उनले विधिको शासन कुल्चेर केपी ओली नेतृत्वको सरकारले मुलुकमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए ।

कांग्रेसले सधैं रचनात्मक कामका लागि सरकारलार्इ सहयोग गर्ने समेत उनले बताए । ‘लोकतन्त्रमा विरोध गर्ने स्थान दिनुपर्छ’, उनले भने, ‘विरोध गर्न रोक्ने ठाँउ समेत नराख्ने गरी निषेधज्ञा लगाउनु अधिनायकवादको संकेत हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो सरकारले गरेका विधिसम्मत निर्णय खारेज गरेकोमा आपत्ति जनाए । प्रदेश प्रमुखको नियुक्तिमा वैधानिकता उठिरहेको प्रसंगमा देउवाले भने, ‘सपथ खाउञ्जेल वैधानिक हुने, अहिले नहुने हुन्छ ?’

चीनबाट अहिले नै रेल ल्याउने कुरा दिवासपना भएको भन्दै देउवाले ओली सरकार भारतसंग लम्पसार परेको आरोप लगाए ।

Published : Saturday, 2018 July 7, 1:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया