युनियनले सिकायो काउन्सिलका अध्यक्षलाई पाठ

काठमाडौं । प्रेस काउन्सिल नेपालसँग जोडिएर सार्वजनिक भइरहेका पछिल्ला घटनाक्रमहरुलाई नेपाल प्रेस युनियनले गम्भिरतापूर्वक नियालिरहेको जनाएको छ ।

सञ्चार क्षेत्रसँग सम्वन्धित अर्ध न्यायिक निकायको रुपमा रहेको प्रेस काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरू नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद् विषय हैन । यहि बीचमा आमनागरिक तहमा समेत प्रेस काउन्सिलका बारेमा अनेक भ्रम सिर्जना हुने दुखद् अवस्था समेत बनेको प्रेस युनियनले जनाएको छ ।

केही दिनयता नेपाली जनमत नै बाँडिने गरी प्रेस काउन्सिलको पक्ष र विपक्षमा आइरहेका अभिव्यक्ति र टिप्पणीहरूले गम्भीर बनाएको महासचिव अजयबाबु सिवाकोटीले जनाएका छन् । त्यसको प्रतिक्रियामा काउन्सिलका तर्फबाट चालिएका कदमहरूले पनि विगतमा काउन्सिलकै तर्फबाट भए गरिएका अभ्यासहरूलाई खण्डित गरेको जनाइएको छ ।

‘शक्तिको प्रयोग गरेर कुनै व्यक्तिको पछि संस्थालाई लगाइ काउन्सिललाई विवादमा तान्नु हुँदैन भन्नेमा पनि युनियन त्यतिकै प्रष्ट छ’, महासचिव सिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहिबेला काउन्सिलको उजुरीमा देशका विभिन्न भागमा क्रियाशील पत्रकारहरू र आमनागरिकहरूलाई उनीहरूले सामाजिक सञ्जालमा लेखेका आधारमा पक्राउ गरिएका र गर्न खोजिएको घटनाले समेत हामी गम्भीर भएका छौ ।’

‘सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा समेत नयाँ रहेको हाम्रो समाजमा सबै विषयको हल प्रहरी प्रसासनको वलमा खोज्ने र तिनलाई विद्युतीय कारोवार ऐन मार्फत कार्वाही गराउन खोज्ने कार्यले काउन्सिलको भूमिकामाथि प्रश्न उठेको छ’, सिवाकोटीले भनेका छन्, ‘सरकार समेत काउन्सिल तथा यसको नेतृत्व तहलाई प्रयोग गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै निर्देशित लोकतन्त्रतर्फ उद्यत भएको हो की भन्ने आशंका पैदा भएको छ ।’

सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिसँग जोडिएका सबै विषयलाई विद्यतीय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले सहि बाटोतर्फ नलैंजाने प्रेस युनियनको भनाइ छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा प्रेस काउन्सिलको गरिमालाई कायम राख्न प्रेस युनियनले काउन्सिल नेतृत्व र सबै सरोकारवालाहरू समक्ष अपील गरेको छ ।

Published : Friday, 2018 June 29, 12:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया