टोखामा कांग्रेस युवा नेताहरूको जमघट, नयाँ सभापतिको खोजी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउनेबारेमा चर्चा चलिरहेका बेला कोइराला परिवारका दुई दाजुभाईबीच कुराकानी भएको छ ।

कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र डा. शेखर कोइरालाबीच शनिबार कुराकानी भएको हो । महामन्त्री डा.शशांक कोइरालाको टोखास्थित निवासमा दाजुभाईबीच परामर्श भएको स्रोतले जनाएको छ । कुराकानीमा सहभागी कांग्रेसका युवा नेताहरूले १४ औँ महाधिवेशनमा कोइराला परिवारबाटै सभापतिमा उम्मेदवारी दिनुपर्ने सुझाव दिएका थिए ।

भाइलाई भेट्न डा.शशांक कोइराला भाईको निवासमा पुगेका थिए । कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको गुटबन्दीबाट पार्टीलाई कसरी जोगाउने भन्नेबारे छलफल भएको थियो ।

कांग्रेसभित्र महामन्त्री डा.कोइरालाले आफू गुटबन्दीको अन्त्य र पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका छन् । डा.शेखर कोइरालाले पनि गुटको विरोध गर्दै आएका छन् । गुटबन्दीकै विषयलाई लिएर डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीको कडा आलोचना गर्दै आएका छन् ।

महामन्त्री डा.शशांक कोइरालाले देउवाकै पक्ष लिएको भन्दै आरोप लागिरहेको बेला दुबै नेता फरकफरक कित्तामा उभिएको देखिन्छ । तर, यी दुई नेताले आफूहरू फरकफरक कित्तामा नरहेको दाबी गर्दै बेलाबेला यस्तो भेटघाट गर्दै आएका छन् ।

कांग्रेसको भावी सभापतिका रुपमा हेरिएका डा.शशांक कोइराला र डा.शेखर कोइरालाबीच बोलचाल बन्द भएको तथा तनावपूर्ण अवस्था रहेको भन्ने समाचार आइरहेका बेला दाजुभाईको मिलन भएको छ ।

दाजुभाईको यो मिलनमा कांग्रेसका नेता दीपक गिरी, दिलेन्द्र बडु, जीवन परियार, गुरु घिमिरे र सरिता प्रसाइँको पनि सहभागिता रहेको थियो ।

Published : Saturday, 2018 June 16, 7:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया