कम्युनिस्टहरूले यसरी मच्चाइरहेका छन् लुट, बद्मासहरूलाई कांग्रेसले तह लगाउने

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले राज्य हरेक निकायमा दवाव दिएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको खुलासा भएको छ ।

कम्यनिस्ट नेताहरूले पद र पावरको दवावमा सरकारी सम्पत्तिमा कब्जा जमाएर मनपरी गरेका हुन् ।

संसद सचिवालयका गाडीहरू पद र राजनीतिक शक्तिको दुरुपयोग गरेर भीभीआइपी–भीआइपीहरूले प्रयोग गर्ने गरेको तथ्य फेला परेको छ ।

सभामुख कृष्णबहादुर महराले आफ्नो चालकको नाममा पाँच वटा गाडी प्रयोग गरेका छन् । महराले आफ्नो पदीय हैसियतअनुसार दुईवटा गाडी चढ्नु स्वभाविक भए पनि पाँच–पाँचवटा गाडी किन लिएका छन् भनेर संसद सचिवालयकै कर्मचारीहरूले आश्चर्य व्यक्त गरेका छन् । ‘सभामुखलाई दुईवटा गाडीसम्म ठीकै हो’, एकजना कर्मचारीले भने, ‘शक्ति हुनेले गाडी प्रयोग गर्ने त होला !’

सभामुख महराले वा २ झ १२६८, वा १ झ ८४८४, वा १ झ ८८८२, वा २ झ २८६३ र वा २ झ १६८७ नम्बरका गाडी प्रयोगमा ल्याएका छन् । सभामुख महराले ती सबै गाडी आफ्नो नाममा बुझेका छैनन् । ती गाडीहरू चालक पृथुलाल विश्वकर्माको नाममा लिएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

सभामुखको सुरक्षाका लागि प्रहरी र सेनाको गरेर दुईवटा थप गाडी अगाडि पछाडि हिँड्छन् ।

त्यति मात्रै होइन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पनि दुईवटा गाडी प्रयोग गर्दै आएका छन् । अध्यक्ष तिमल्सिनाले वा २ झ १६९१ र वा २ झ २८७० नम्बरका दुईवटा गाडीमा कब्जा जमाएका छन् । अध्यक्ष तिमल्सिनाले पनि चालक सिंहराज रुकवाको नाममा बुझेका छन् ।

तत्कालीन एमालेका मुख्य सचेतक खगराज अधिकारीले पनि वा २ झ २८६४ नम्बरको गाडी फिर्ता गरेका छैनन् । संसद सचिवालयका एक कर्मचारीका अनुसार पदमा नहुँदा पनि गाडी सहज रुपमा फिर्ता गर्दैनन् । अहिले नेपाल कम्युनिस्ट पार्टीको मुख्य सचेतक देव गुरुङ छन् ।

राष्ट्रिय सभाका सांसद परशुराम मेघी गुरुङले पनि वा १ झ ८५०८ नम्बरको गाडी प्रयोग गरेका छन् । पार्टी एकीकरणपछि उनको पद छैन । तैपनि गुरुङले गाडी फिर्ता गरेका छैनन् ।

दुई महिनाका लागि भनेर संसद सचिवालयबाट खेलकुद मन्त्रालयले लगेको वा १ झ ८४८५ नम्बरको गाडी फिर्ता भएको छैन । त्यो गाडी को चढेको छ भन्ने कुराको जानकारी संसद सचिवालयलाई नै छैन ।

खेलकुद मन्त्रालयले संसद सचिवालयबाट २०७४ साल असार ३० गते लगेको हो । एक वर्ष हुँदा पनि गाडी फेला परेको छैन ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली बनाउने मस्यौदाका संयोजक कृष्णभक्त पोखरेलले पनि वा १ झ ८४८२ नम्बरको गाडी चढेका छन् । मस्यौदा शुक्रबार पारित भइसकेको छ । अब त्यो गाडी फिर्ता हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि दुईवटा गाडीमा कब्जा जमाएकी छिन् । उनले वा २ झ १४३८ र वा २ झ १६८९ नम्बरका गाडी प्रयोग गर्दै आएको उच्च स्रोतले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पदमा रहेका पदाधिकारी र जनप्रतिनिधिहरूले शक्तिको दुरुपयोग गर्न नहुने सुझवा दिएका छन् ।

‘आफैले आफ्नो पदीय जिम्मेवारी हेक्का राख्नुपर्छ’, उनले भने, ‘संसद सचिवालयको गाडी मात्रै होइन कुनै पनि सरकारी सम्पत्तिको दुरुपयोग हुन्छ भने कांग्रेसले त्यसको विरोध गर्नेछ । सरकारलाई सचेत गराउनेछ ।

संसद सचिवालयले पूर्वसभामुख रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्तीसहितका भिभिआइपीलाई पनि गाडी उपलब्ध गराएको छ ।

सुविधामा गाडी पाउने नेता, पदाधिकारी र कर्मचारीहरूले संसद सचिवालयका सरकारी ड्राइभरहरूलाई लिन मान्दैनन् । ड्राइभरहरूको रुखो व्यवहार र भनेको नमान्ने गरेका कारण नेताहरूले बाहिरबाट ड्राइभर राख्ने गरेको स्रोतले जनाएको छ ।

Published : Saturday, 2018 June 9, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया