प्रचण्डले ओली सरकार ढाल्नै लागेका हुन् ? किन आत्तिए ओली ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान लेखेको ट्वीटलाई लिएर माओवादी केन्द्रका नेताहरूले विभिन्न व्याख्या र आशंकाहरू गरेका छन् ।
प्रधानमन्त्री ओलीको ट्वीटर ह्याण्डलबाट सोमबार बिहान ‘दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ’ भन्दै ट्वीट गरेका थिए । यो भनाइलाई माओवादीका नेताहरूले आफूहरूलाई लक्षित गरेर भनेको हो कि भनेर आशंका जनाएका हुन् ।
‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ’, प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन् ।
माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्री केपी ओलीज्यूको ट्वीटको मकसद एमाले र माओवादीबीचको पार्टी एकीकरण र सत्तासमीकरणमा होइन होला । तर, त्यसलाई गलत अर्थले पनि बुझ्नु हुँदैन ।’
प्रधानमन्त्रीको ट्वीटप्रति लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कडा जवाफ दिएका छन् । काठमाडौंमा सोमबार वाइसियलको कार्यक्रममा प्रचण्डले एमालेसँग समान हैसियत र सम्मानजनक रुपमा पार्टी एकीकरण हुनेभन्दै माओवादीलाई विलय नगराउने बताएका थिए ।
‘जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुँदैन’, प्रचण्डले भनेका छन्, ‘जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता हुन सक्दैन ।’ प्रचण्डको यो अभिव्यक्ति अहिलेसम्मकै कडा रहेको वाइसियलका एक नेताले बताए ।
प्रधानमन्त्री ओलीको ट्वीट र प्रचण्डको अभिव्यक्तिले पार्टी एकता चाहने शुचेच्छुकहरूको मनामा चिसोपना ल्याइदिएको छ । पार्टी एकता बाध्यात्मक रहेको दुबै दलहरूले बताउँदै आएका छन् ।
उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग भेटवार्ता गर्ने गरेको समाचारहरू पनि आइरहेका छन् । ती वार्ताहरूमा के विषयमा कुराकानी भएका हुन् केही बताइएका छैनन् । यद्यपि, प्रचण्ड र डा.भट्टराईबीच बाक्लै सम्पर्क हुन थालेको स्रोतको भनाइ छ ।
प्रचण्ड संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि निरन्तर सम्वादमा छन् । उनीहरूका बीच मोर्चा बनाउनेबारेमा सामान्य छलफल भएको स्रोतको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत