कहाँ बिग्रियो ओली–प्रचण्ड सम्बन्ध ? कसले लियो बदला ?

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको व्यवहारबाट दिक्क भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकीकरणका बारेमा अलमलमा परेका छन् । मित्रराष्ट्र चीनको दवावपछि एमालेसँग वाम गठबन्धन गरेर पार्टी एकीकरणसम्मको अन्तिम चरणमा पुगेका प्रचण्डलाई ओलीप्रति किन वितृष्ण बढेको हो ? केही खुल्न सकेको छैन ।

ओलीको व्यवहार र कार्यशैलीबाट प्रचण्ड सन्तुष्ट छैनन् । स्रोतले भन्यो, ‘प्रचण्डले ओलीलाई सुरुवाती दिनमा धेरै विश्वास गर्नुभएको थियो । तर, अहिले ओलीले गर्ने व्यवहारबाट प्रचण्ड दिक्क हुनुहुन्छ । कहिले काहीँ भेट्न बोलाएर ओलीले प्रचण्डलाई एकघण्टासम्म बैठक कोठामा कुराइदिनुहुन्छ ।’ ओलीको यो व्यवहारलाई प्रचण्डले अपमानका रुपमा लिने गरेका छन् ।

केही दिन अगाडि पार्टी एकीकरणका लागि वार्ता गर्ने भनेर ओलीले प्रचण्डलाई बालुवाटार बोलाए । प्रचण्ड बैठक कक्षभित्र प्रवेश गर्न नपाउँदै ओलीले ‘आज वार्ता गर्ने मुड छैन, भोलि बैठक बसौँला’ भनेर हात पनि नमिलाएर अर्को कोठामा प्रवेश गरे । ओलीको यो व्यवहारले प्रचण्डलाई मनभित्र चिसो पसेको थियो ।

त्यसपछि ओली र प्रचण्डबीच वार्ता हुन सकेन । ओली भारत भ्रमणमा गए । पार्टी एकीकरणका लागि आइतबार साँझ वार्ता गर्ने भनिएको थियो । प्रचण्डले पनि ओलीलाई फोन गरेर ‘म सुकुटेतिर जान लागेको छु, सोमबार वार्ता गरौँला है’ भनेर फोन काटिदिए । ओलीले आफूलाई गरेको अपमानको बदला प्रचण्डले आइतबारको घटनाबाट लिएका छन् ।

ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरूले प्रचण्डलाई सुनाएका छन् । यो निस्कर्ष सुनेपछि प्रचण्ड पनि सशंकित बन्न पुगेका छन् । पार्टी एकता हुने हो भने वरावरीमा गर्नुपर्ने अन्यथा माओवादीलाई एमालेमा विलय गराउन नहुने दवाव नेताहरूले प्रचण्डलाई दिइरहेका छन् ।

बैंककमा ओलीले भारतीय गुप्चर संस्था ‘रअ’का उच्च अधिकारीलाई भेटेर आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर नरेन्द्र मोदी सरकारसँग लाइन मिलाएको प्रचण्ड

ओली दुईवटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा छैनन् । उनी माओवादीलाई फसाएर आत्मसमर्पण गराउन अनि सिध्याउन चाहेको ठहर माओवादीको छ । ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन त दिएका छन् । माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएको एमालेकै एक नेताले बताए ।

ओलीले सचिवहरूको सरुवा गर्दा माओवादी निकट मन्त्रीसँग कुनै सरसल्लाह नगरेकोमा प्रचण्ड असन्तुष्ट छन् । प्रचण्डसँग पनि छलफल नगरी ओली एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेको आरोप माओवादीको छ ।

सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट ओलीमा विचलनको सुरुवात बैंकक भ्रमणपछि भएको माओवादीका एक नेताले आरोप लगाए । बैंककमा ओलीले भारतीय गुप्चर संस्था ‘रअ’का उच्च अधिकारीलाई भेटेर आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर नरेन्द्र मोदी सरकारसँग लाइन मिलाएको प्रचण्डले आफू निकटका नेताहरूसँग भनेको स्रोतले जनाएको छ । तीन नेताले भने, ‘त्यसैको क्लाइमेक्स हो, उनको भारत भ्रमण, जहाँ केपी ओलीको राष्ट्रवादको भाँडो पूर्णरुपमा घोप्टियो ।’

भारतसँग सम्बन्ध सुध्रिएपछि ओलीले माओवादीलाई पेल्ने मुडमा बढी देखिएको प्रचण्डको बुझाइ छ । माओवादी आएन भने मधेसी दलले हामी छौं भनेर ओलीलाई आश्वासन दिइरहेका छन् ।

प्रचण्डले प्रधानमन्त्रीको सुनिश्चितता खोजेका कारण एकता प्रक्रियामा ढिलाइ भएको दाबी एमालेका नेताहरूको छ । पार्टी एकताका क्रममा ५०–५० को बराबरी हैसियत र जनयुद्धका विषयहरू बाहिर आएता पनि प्रचण्डले अढाइ वर्षपछि आफू प्रधानमन्त्री हुने सुनिश्चितता ओलीबाट खोजेको एक एमालेका नेताले बताए । मौखिक रुपमा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् । प्रचण्ड लिखित सहमति गर्न चाहन्छन् । तर, ओली लिखित गर्न चाहँदैनन् ।

‘संयुक्त दस्तावेजमा जनयुद्ध शब्द लेख्न आपत्ति छैन, जनयुद्ध कटु सत्य थियो, त्यो दस्तावेजमा लेख्न सकिन्छ । किनभने जनयुद्ध गर्ने कुरो होइन, भएको थियो भनेर लेख्न एमालेलाई आपत्ति छैन’, स्रोतले भनेको छ ।

Published : Monday, 2018 April 16, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया