सुरु भयो गुल्मी कांग्रेसको अभियान, गरिव जनताको घरमा बास
गुल्मी । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा हार व्यहोर्न पुगेको नेपाली कांग्रेस गुल्मीले संगठन सुदृढीकरण अभियान सुरु गरेको छ ।
गुल्मी कांग्रेसले ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान सुरु गरेको हो । जनतासँग प्रत्यक्ष घुलमिल गर्ने र दुःख–सुख साट्ने उद्देश्यले ५० दिने अभियान नयाँ वर्षको पहिलो दिनबाट सुरु गरिएको कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
अभियानबाट जनतासँगको सम्बन्ध सुधार हुने र देशभरकै लागि प्रेरणादायी बन्ने कांग्रेसको विश्वास छ । गुल्मी जिल्ला पार्टीले सुरु गरेको यो महाअभियानले देशभरकै सिंगो कांग्रेसलाई भिटामिनको क्याप्सुलको जस्तै काम गर्ने सभापति श्रेष्ठले बताए ।
गुल्मी कांग्रेसले अभियानको क्रममा जिल्लाका ९३ वटै वडामा पुग्ने योजना बनाएको छ । चुनावको बेला मात्रै गाउँ घरमा पुग्ने र चुनाव जितेपछि गाउँमै नफर्किने गर्दा जनतासँगको सम्बन्ध टाढिएको निष्कर्षसहित कांग्रेसले सम्बन्ध सुधारको अभियान थालेको हो ।
गरिव, दलित र अति सिमान्तकृत जनता कांग्रेससँग नजिक नरहेको निश्कर्ष निकाल्दै अभियान सुरु गरिएको सभापति श्रेष्ठले बताए ।
नेता, कार्यकर्ताहरू पाहुनाको रुपमा होइन गरिव सर्वसाधारण, जनताको लवाइ खुवाइ र बसाइ जस्तो छ त्यस्तै भएर ५० दिनसम्म खट्ने छन् ।
विशेषगरी गरिव, दलितको घरमा बस्ने, उनीहरूले जस्तो खान्छन् त्यस्तै खाने, उनीहरूको कामलाई सघाउने, जातीय विभेद, सामाजिक विकृति विसंगति र कुरितीलाई हटाउने काममा सक्रिय हुने गरी योजना बनाइएको छ ।
कांग्रेस कार्यकर्ताले जातीय छुवाछुत वा विभेद गरेमा पार्टी सदस्यता नै खारेज गर्ने कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए ।
अभियानको पहिलो हप्तासम्म पार्टी शुद्धृढीकरण, सम्पूर्ण जनवर्गीय संगठनको पुनर्गठन, पार्टी सदस्यता नवीकरण गर्ने कार्ययोजना बनाइएको छ । त्यस अवधीमा प्रत्येक वडामा ७ सदस्यीय छायाँ सरकार पनि गठन गरिनेछ ।
दोस्रो र तेस्रो हप्तासम्म कांग्रेस नेता कार्यकर्ताहरू सामाजिक कार्यमा सहभागी हुनेछन् । पोखरी, चौतारी, विद्यालय जस्ता सार्वजनिक स्थान निर्माण गर्ने, सरसफाइ गर्ने र सामाजिक विकृति, विसंगतिविरुद्ध चेतनामुलक कार्यक्रम गर्ने गुल्मी कांग्रेसले जनाएको छ ।
विकास निर्माणमा हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीको भण्डाफोर गर्दै जनतालाई जागरुक बनाउने योजना पनि बनाइएको छ ।
जिल्लाभरका सबै स्थानीय तहहरूमध्ये ९३ वडामा ८६ जना कांग्रेसका नेताहरू गाउँगाउँमा पुगेर शनिवार बिहानैबाट शुभकामना आदानप्रदान कार्यक्रम गरिरहेको कांग्रेस गुल्मीकी प्रवक्ता बिष्णुकुमारी सापकोटाले जानकारी दिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत