कान्तिपुरका मालिक कैलाश सिरोहियाले पत्रकार महासंघसामु घुँडा टेके, घमण्ड चक्नाचुर

काठमाडौं । नेपाल पत्रकार महासंघसामु घुँडा टेकेर कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहिया झुकेर सबै माग पूरा गरेका छन् ।

कान्तिपुर मिडिया गुप्रमा उत्पन्न श्रम समस्याका बारेमा नेपाल पत्रकार महासंघमा प्राप्त उजुरी र गुनासालाई सम्बोधन गर्न महासंघले आन्दोलन गरेको थियो ।

झण्डै दुई महिनाको सशक्त आन्दोलनपछि महासंघ नेतृत्व र कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन पक्षबीच पटक–पटकको औपचारिक/अनौपचारिक वार्ता भई ४ वुँदे सम्झौता भएको पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहमतिमा महासंघका अध्यक्ष विपुल पोख्रेल र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट ग्रुप चिफ अफ स्टाफ शिशिर पछाईले हस्ताक्षर गरेका छन् । पत्रकार महासंघको आन्दोलनपछि डराएका कान्तिपुरका मालिक सिरोहियाले आन्दोलनरत पत्रकार, कर्मचारीहरूको माग पूरा गरेपछि उनको घमण्ड चकनाचुर भएको छ । अहँकारले पत्रकार र कर्मचारीलाई टेरपुच्छर नलगाएर सिरोहियाले निकै ठूलो दादागिरि गरेका थिए । अबका दिनमा सिरोहियाको अहँकार र दादागिरिले काम गर्नेवाला छैन ।

‘श्रम अधिकारसँग सम्वन्धित प्रचलित कानून र आन्दोलनको जगमा सम्झौताको विन्दुमा पुगेको सम्वन्धित सबैमा जानकारी गराइन्छ’, अध्यक्ष पोखरेलले भनेका छन् ।

‘कान्तिपुर व्यवस्थापनले कानूनविपरीत गरेको पत्रकारहरूको निश्कासन, सरुवा र प्रष्टीकरण दुई पक्षको सम्झौताबाट सम्पूर्ण रुपमा फिर्ता भएको छ’, महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

‘कामलाई निरन्तरता दिन चाहने पत्रकारहरूलाई सहज काम गर्ने वातावरण निर्माण र स्वेच्छिक अवकाशमा जान चाहनेहरूलाई कानूनअनुसार पाउने सेवा सुविधालाई सुनिश्चित गरिएको छ’, अध्यक्ष पोखरेलले भनेका छन् ।

‘श्रमजीवी पत्रकारका सम्वन्धमा सबै किसिमका काम कारबाही प्रचलित कानूनबमोजिम मात्र गर्ने सम्झौता भएको छ’, महासंघले भनेको छ ।

‘यो सम्झौतालाई महासंघले सकारात्मक रुपमा लिँदै अक्षरश: पालनामा जोड दिन्छ’, महासचिव पुरीले भनेका छन् ।

‘सहमतिमा भएका लिखित बुँदा र त्यसले बोक्ने ब्यवहारिकतालाई दुबै पक्षबाट इमान्दारिताका साथ पालना गर्नेमा महासंघ विश्वास व्यक्त गर्छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सम्झौता लागू गराउनका लागि खेल्नुपर्ने भूमिका र पहलका लागि महासंघ दृढ रहेको छ’, महासंघले भनेको छ ।

सम्झौता कान्तिपुर मिडिया गुप्रको केन्द्रीय कार्यालय, प्रदेश र जिल्लामा कार्यरत कान्तिपुरकर्मीहरूमा समान रुपले लागू हुनेछ ।

सरकारले श्रमजीवी पत्रकारलाई तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सम्झौता गरिएको महासंघले जनाएको छ । रोकिएको तलब तत्काल उपलब्ध गराउने सहमति भएको छ ।

दुई पक्षबीच भएको सम्झौता कार्यान्वयनका लागि महासंघको श्रमजीवी हित प्रवर्धन समितिले सहजीकरण र निरन्तर अनुगमन गर्नेछ ।

सम्झौतासँगै महासंघका घोषित संघर्षका कार्यक्रम स्थगन भएको छ । महासंघ श्रम अधिकार प्राप्तिका लागि भएको यो आन्दोलनमा प्रत्यक्ष /अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 December 1, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया