ललितपुर र बाँकेबाट पाँच वटा मोटरसाइकल चोर्ने चोरहरू पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जना र बाँकेबाट २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ललितपुरबाट ४ वटा र बाँकेबाट १ वटा मोटरसाइकल बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुरका विभिन्न स्थानबाट बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१३ घर भई काठमाडौंको बौद्ध बस्ने विजय श्रेष्ठ, मकवानपुरको हेटौंडा उप–महानगरपालिका–८ बस्ने अमित लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–२ घर भई ललितपुर महानगरपालिका–९ बालकुमारी खरिबोट बस्ने पञ्चलाल ब्लोन र मकवानपुरको हेटौंडा उप–महानगरपालिका–७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।

चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका–१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२–०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२–०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२–०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धिबाट चोरी गरी ललितपुर महानगरपालिका–२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ ।

उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

उता, बाँकेको नेपालगंज उप–महानगरपालिका–८ बस्ने अतहर हुसेनको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उप–महानगरपालिका–८ बस्ने २३ वर्षीय अजयसिंह बाडिया र सोही उप–महानगरपालिका–९ बस्ने रमेश भन्ने हरि सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नेपालगंज उप–महानगरपालिका–१८ जनता ग्यारेज अगाडिबाट चोरी गरेको मोटरसाइकलको रङ परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

Published : Friday, 2023 December 1, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया