मुख्यमन्त्रीको तलबबाट अति विपन्नको घर बनाइदिने, ६ जना डाक्टर र १० जनालाई नर्स पढाइदिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब, भत्ताको रकमबाट आफू निर्वाचित निर्वाचन क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन् ।

हेटौँडामा मंगलबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलव र भत्ताको रकमबाट मकवानपुर क्षेत्र नम्बर २(२) का अति विपन्न परिवार छनौट गरी घर निर्माण गरिदिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय गरेको छ ।

आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका विपन्न र सिमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रावृति प्रदान गर्ने निर्णय गरेको छ ।

जेहेन्दार र विपन्नमध्ये छनौट गरी मेडिकल डाक्टर २ जना, आयुर्वेद डाक्टर २ जना र भेटेरीनरी डाक्टर २ जना साथै १० जनालाई नर्सलाई पूर्ण छात्रवृत्ति दिने निर्णय भएको सरकारका प्रवक्ता खानेपानी, उर्जा तथा सिंञ्चाइमन्त्री कृष्णकुमार तामाङले जानकारी दिए ।

मन्त्रिपरिषदले प्रदेशभित्र रहेका अति गरिब र सिमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल हायु वनकरियालगायतलाई जीवनयापनको सहयोगको लागि गाँसबास र कपासको प्रबन्ध गर्न उच्च प्राथमिकताका साथ नीति बनाई यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताएका छन् ।

Published : Wednesday, 2025 August 6, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया