स्वयम्भुमा कांग्रेस उपसभापतिको रेष्टुरेन्टमा गोरुको मासु बिक्री गरेको आशंकामा प्रहरी छापा, गुपचुप पारियाे घटना

काठमाडौं । गोरुको मासु बिक्री गरेको अभियोगमा प्रहरीले नेपाली कांग्रेस, भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोकका उपसभापति प्रेम लामाले काठमाडौंमा सञ्चालन गरेको रेष्टुरेन्टमा छापारेको छ ।

बिहीबार ग्राहकको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भुले कांग्रेस उपसभापति लामाको ‘तामाङ कुदाप रेष्टुरेन्ट’ विजेश्वरी, स्वयम्भुमा छापामारेको प्रहरी स्रोतले जनाएको छ । स्रोतले भनेको छ, ‘तामाङ कुदाप रेष्टुरेन्टमा गोरुको मासु बिक्री गरेको सूचना आयो । प्रहरीले छापामारेर अनुसन्धान गर्‍यो । सञ्चालक प्रेम लामा, फूलकुमार तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छाडिएको छ । रेष्टुरेन्टमा आरोप लगाए जस्तो केही नपाएपछि सञ्चालकहरूलाई नियन्त्रणमा लिएर छाडिएको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले तामाङ कुदाप रेष्टुरेन्ट, स्वयम्भुमा गोरुको मासु बिक्री गरेको उजुरी र छापामारिएको रेष्टुरेन्टको घटनाका बारेमा आफूलाई जानकारी नरहेको बताउँदै प्रहरी वृत्त स्वयम्भुमा बुझेर जानकारी दिने बताए ।

कांग्रेसका उपसभापति लामाले स्वयम्भुको विजेश्वरीमा ‘तामाङ कुदाप रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका छन् । रेष्टुरेन्टमा लामासहितका पार्टनरहरू छन् ।

रेष्टुरेन्टमा गोरुको मासु बिक्री गरेको भनेर प्रहरीमा सूचना गएपछि प्रहरीले छापामार्नेवित्तिकै आत्तिएका कांग्रेस उपसभापति लामाले शक्तिको आडमा आफूलाई बचाएका छन् । उपसभापति लामाले प्रहरी प्रशासनमा ठूलो दवाव दिएर छुट्नुका साथै कारबाहीबाट बचेका छन् ।

रेष्टुरेन्टमा गोरुको मासु बिक्री गरेको आरोप लागेका उपसभापति लामालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) टेकबहादुर तामाङले संरक्षण गरेर छाडिदिएको आरोप लागेको छ ।

‘पुलिसको फुली लगाएको मान्छेले हाम्रो रेष्टुरेन्टमा सर्च गर्नु भएन’

कांग्रेस उपसभापति समेत रहेका रेष्टुरेन्ट सञ्चालक प्रेम लामा के भन्छन् ?

हाम्रो फास्टफुड रेष्टुरेन्ट हो । कल्चरल । रेष्टुरेन्ट चलाउनको लागि हामीले सामानहरू बजारबाट किनेर ल्याउने हो । सुकुटीको विषयमा कुरा निस्कियो । सुन्धारामा सुकुटी बेच्छ किलोको १८ सयमा । असनमा पूरै सुकुटी हुन्छ । १८ सय १७ सय किलोमा । हामीले ल्याएर बेच्ने त्यहिँबाट हो । उनीहरूले हामीलाई बफ सुकुटी भनेर बेचेको छ । बफ सुकुटी भनेर किनेर ल्याउँछौँ । बफ सुकुटी भनेर लिएर आउँदा हामीले असनबाट बेच्ने कुरा हाम्रो दोष होइन । प्रहरीलाई भनिसकेका छौँ हामीले । बफ सुकुटी भनेर हामीलाई कुकुरको बेच्छ कि, राँगाको बेच्छ कि, मान्छेको बेच्छ कि, बिफ बेच्छ कि, गाई बेच्छ कि हामीलाई थाहा हुँदैन नि हजुर । त्यो बुझ्नु पर्‍यो नि । कसैले कुरा लगाएको भरमा पुलिसको फुली लगाएको मान्छेले हाम्रो रेष्टुरेन्टमा सर्च गर्नु भएन नि हजुर । प्रुफ गर्छ भने के फरक पर्छ त हामीलाई ? हामीले बजारबाट किनेर ल्याएको हो नि । हामीले गाई मारेर बेचेको होइन नि ।

Published : Thursday, 2025 June 12, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया