एसएसपी जोशीको ‘काभ्रे काण्ड’ले प्रहरीभित्र खैलाबैला, बयान दिँदादिँदै घुमुवा आजित

बनेपा । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी अवैध असुली र जुवाडेहरूसँग कमिशन खाएको अभियोगमा अनुसन्धानको दायरमा परेका छन् ।

संघीय प्रहरी इकाई कार्यालय बनेपा, काभ्रेमा प्रमुख रहेका बेला एसएसपी जोशीले घुमुवामार्फत जुवाडेहरूसँग कमिशन खानेदेखि अबैध रुपमा प्राकृतिक दोहन गर्न दिएर असुली धन्दा चलाएको बयान घुमुवाले काभ्रे प्रहरी समक्ष दिएको स्रोतले जनाएको छ । काभ्रे जिल्लाका क्रसर व्यवायीहरूसँग ती घुमुवासँग जोशीले अबैध असुली गरेको आरोप छ ।

अबैध असुली धन्दाका लागि एसएसपी जोशीले घुमुवा परिचालन गरेको स्रोतको बनाइ छ । ती घुमुवालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानको दायरामा राखेर बयान लिने लगायतका छानविन प्रक्रिया अगाडि बढाएको छ । एसएसपी जोशीले आफ्नो क्षेत्राधिकार मिचेर घुमुवा राखेको आरोप पनि छ ।

घुमुवाले दिएको लिखित र अडियो बयानमा एसएसपी जोशीको निर्देशनमा जुवा खेलाउने र अबैध रुपमा प्राकृतिक दोहन गर्ने क्रसर व्यवसायीहरूसँग रकम उठाएर आफूले दिने गरेको उल्लेख छ ।

पक्राउ परेका जुवा खेलाउने समूहको भिडियो बयानमा पनि एसएसपी जोशीले घुमुवामार्फत आफूहरूसँग रकम लिने गरेको उल्लेख छ । ती घुमुवाको बयानले हेडक्वाटरमा रहेका एसएसपी जोशीलाई तनाब भएको छ ।

प्यूठान जिल्ला स्थायी घर भएका ती घुमुवा लामो समयदेखि काभ्रेमा बसेर अकुत कमाइ गरेको आरोप छ । छानबिनको दायरमा रहेका घुमुवा (सिपाही)ले बनेपामा ३/४ तलाको घर समेत बनाइसकेका छन् । अडियो बयानमा उनले आफू फस्ने भएपछि एसएसपी जोशीलाई पनि नछाड्ने चेतावनी दिएको बयानमा उल्लेख छ ।

घुमुवा परिचालन गरेर जुवा खेलाउने गिरोहसँग रकम असुली र क्रस व्यवसायीहरूलाई अबैध रुपमा प्राकृतिक दोहन गर्न दिएर रकम लिएको भन्ने आरोपका विषयमा एसएसपी जोशीले सबै निराधार रहेको बताए ।

उनले भने, ‘त्यो कार्यालय दश–पाँचको हो । घुमुवा राख्ने अधिकार नै छैन । असुली गरेको भन्ने आरोप झुठ्ठा र निराधार हो ।’ जोशीले आफू बनेपामा बस्दा कसैसँग नभेटेको समेत बताएका छन् ।

संघीय प्रहरी इकाई कार्यालय बनेपाका प्रमुख (एसएसपी) श्याम ज्ञवालीले यो विषयमा बोल्न चाहेनन् । ज्ञवालीले भने, ‘मलाई थाहा नभएको कुरा बोल्नु हुँदैन ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेका कार्यबाहक प्रमुख (डीएसपी) हरि खतिवडाले कतिपय कुराहरू अनुसन्धानको क्रममा रहेको भन्दै संगठनभित्रको आन्तरिक विषयमा आफूलाई धेरै कुरा जानकारी नरहेको बताए ।

प्रहरीभित्रको आन्तरिक विषय भएका कारण प्रहरीका जिम्मेवार अधिकारीहरू बोल्न मानेका छैनन् । विगतमा घुमुवा प्रयोग गरेर अपराध रोक्नभन्दा पनि अबैध असुली गरेको भनेर आलोचना भएका थिए । त्यसपछि यो विषयलाई हेडक्वाटरले गम्भीर रुपमा लिएर केही कुराहरू परिवर्तन समेत गरेको थियो । अनुसन्धान, सुरक्षा र गोपनीयताका कारण घुमुवा सिपाहीको नाम समाचारमा उल्लेख गरिएको छैन ।

Published : Thursday, 2021 July 29, 2:54 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया