ओलीले संविधान मिच्दा प्रचण्ड–माधवले हेरेर बसे, अहिले सडकमा आइपुगेः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सर्वोच्च अदालतले दिने निर्णयलाई मान्नुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ५ मा शनिबार आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले सर्वोच्च अदालतको फैसलालाई मान्नुपर्ने बताए । ‘संसद विघटनको कुरा कांग्रेसलाई मन परेको छैन । यो विषय सर्वोच्च अदालतमा गएको छ’, उनले भने, ‘कांग्रेसले संविधान र कानून मान्ने पार्टी हो । कम्युनिस्टहरू संविधान र कानून मान्दैन ।’

‘प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गर्दा संविधानले दिएको स्टेप पूरा नगरेर विघटन गर्नुभएको छ । ओलीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयको हामीले विरोध गरेका छौँ’, डा.महतले भने, ‘हामीले ओलीको कदमको विरोध गरेका छौँ ।’

प्रधानमन्त्री ओलीले सत्ता र अवसरहरू नदिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपालहरूले घर झगडा गरेको उनले बताएका छन् ।

‘कांग्रेसले संसदमा उप–सभामुख र सभामुख फरक–फरक दलको हुनुपर्छभन्दा दाहाल–नेपालले मानेनन्’, उनले भने, ‘१७ दिनसम्म राष्ट्रिय सभामा कांग्रेसले तीन जना सदस्यको नाम राष्ट्रपतिले राख्नुभयो । ओलीले सिफारिस गर्दा तत्काल मनोनीत गरिएको थियो ।’

‘ओलीले संविधानको धाराहरू मिच्दा दाहाल–नेपाल बोल्नुभएन । किन भने उनीहरूको स्वार्थ बाझिएको थियो’, कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘संविधानको मर्म र भावना विपरितको विधेयक आउँदा बोल्नुभएन ।’

सरकार चलाउन जनताबाट अनुमोदन भएर आउने पर्ने बताएका डा.महतले भने, ‘सर्वोच्च अदालतले संसद पुनःस्थापना ग¥यो भने पनि मान्छौँ । निर्वाचनमा पठायो भने पनि मान्छौँ ।’

जनता बलियो भए भने मात्रै राष्ट्रियता र प्रजातन्त्र बलियो हुने उनको बताएका छन् । कम्युनिस्टहरू कहिल्यै पनि प्रजातान्त्रिक नहुने उनले बताएका छन् ।

आन्दोलनका नाममा प्रचण्डले ‘शाकाहारी’ आन्दोलनले केही नहुने भनेर कार्यकर्ताहरूलाई उचालेको भन्दै कांग्रेसका सह–महामन्त्री डा.महतले विरोध गरेका छन् ।

कांग्रेस आन्दोलनमा जानु उचित रहेको बताएका उनले भने, ‘जनतालाई जागृत गराएर कम्युनिस्टहरूविरुद्ध जनमत बनाउनुपर्छ । हामीले अझै कम्युनिस्टविरुद्ध जनमत बनाउन सकेका छैनौँ । विश्वमा कम्युनिस्टले जितेको छैन । नेपालमा कम्युनिस्टले झण्डै दुईतिहाइले जितेको छ । कम्युनिस्ट समाप्त नहुँदासम्म नेपालको विकास हुँदैन ।’

कम्युनिस्ट शासन बेठिक हो भन्ने कुरा विश्वले बुझे पनि नेपालले बुझ्न नसकेको उनले बताएका छन् । ‘काम गर्ने कांग्रेस’, उनले भने, ‘गफ लगाएर कम्युनिस्टले जितेका छन् ।’

कम्युनिस्टहरूले कांग्रेसविरुद्ध प्रोपोगाण्डा गरेको भन्दै उनले गलत कुराको पछाडि नलाग्न आग्रह गरेका छन् । कांग्रेसमा एकअर्काको आलोचनामा समय खर्च गरेको भन्दै डा.महतले पार्टीभित्रभन्दा पनि कम्युनिस्ट पार्टी कांग्रेसको प्रतिस्पर्धी रहेको बताए ।

Published : Saturday, 2021 January 23, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया