ओलीलाई हटाउन उप–राष्ट्रपति सक्रिय, पुन–दाहाल र भट्टराईबीच गोप्य वार्ता

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच गोप्य भेटवार्ता भएको छ ।

दाहाल र भट्टराईबीच शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको हो । नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । ब

विगतमा दाहाल र भट्टराई एउटै पार्टीमा थिए । उनीहरूका बीच राजनीतिक कार्यदिशा नमिलेपछि भट्टराईले कम्युनिस्ट पार्टी छाडेर नयाँ पार्टी गठन गरेका थिए । भट्टराईले आधा दर्जन पार्टीमा चाहारिसकेका छन । अब उनी पुनः दाहालसँग नजिकिन खोजेका छन् ।

त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो । दाहाल र भट्टराईबीच प्रधानमन्त्री केपी ओलीलाई हटाउने विषयमा मिलेको छ ।

बाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका छन् । संवैधानिक पदमा बसेका पुनले आफूलाई प्रधानमन्त्री ओलीविरुद्ध केन्द्रित बनाएका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि गरेको भन्दै आलोचना भएको थियो ।

भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन् ।

‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ’, भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हुँ । गर्दैरहनेछु ।’

भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेस, दाहाल(नेपाल नेतृत्वको नेकपा र जसपाका एक्लाएक्लै प्रदर्शन राम्रै भए पनि संयुक्त संघर्षको खाँचो भएको बताएका छन् । उनले आम नागरिकको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम आँक्न नहुने पनि बताएका छन् ।

‘ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन् । आ–आफ्ना ऐनामा हेरेर मक्ख नपरौं । आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौँ’, भट्टराईले भने, ‘एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौं ।’

Published : Saturday, 2021 January 23, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया