प्रचण्डका छोरी–बुहारी–ज्वाइँलाई मन्त्री बनाइदिए कम्युनिस्टहरूको कुरा मिल्छः पाण्डे

ताकुकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा संसदीय दलका पूर्व नेता शुरेन्द्र पाण्डेले समाप्त हुने पालो अब कम्युनिस्टहरूको आएको बताएका छन् ।

ताकुकोटको डाँडागाउँमा शुक्रबार आयोजित कांग्रेसको संगठन सुदृढीकरण अभियानलाई सम्बोधन गर्दै नेता पाण्डेले कम्युनिस्टहरूको ज्यादति धेरै भएको बताए ।

‘जनताले बहुमत दिँदा पनि पूरा समय सरकार चलाउन सकेनन् । आन्तरिक विषयको झगडाले गर्दा संसद विघटन गरेका छन्’, उनले भने, ‘कम्युनिस्टहरूले भ्रष्टाचार गरेका छन् । जनतालाई दुःख दिएका छन् ।’

‘प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठहरूका बीच लेनदेनमा कुरा मिल्दासम्म सँगै बसे । भ्रष्टाचार गरेको पैसा ओलीले दिन छाडेपछि कुरा बिग्रियो’, उनले भने, ‘बुहारीलाई मन्त्री, छोरीलाई मेयर ज्वाइँहरूलाई नियुक्ति र सरकारी सुविधा दिएका प्रचण्डलाई ओलीले पैसा र पद दिन छाडेपछि कुरा बिग्रियो ।’

कांग्रेसलाई कजमजोर ठानेर तर्साउने काम बन्द गर्न कम्युनिस्टहरूलाई कांग्रेस नेता पाण्डेले सचेत गराएका छन् । ‘कांग्रेसलाई कम्युनिस्टले तर्साउँदैमा कांग्रेस तर्सिदैन’, उनले भने, ‘कम्युनिस्टहरूसँग डराउनु हुँदैन । यिनीहरूको हबिगती सबै देखिएको छ ।’

‘कम्युनिस्टको झगडा सिद्धान्त र विचारको होइन । ओलीले पैसा दिँदासम्म कुरा मिल्यो । दिन छाडेपछि झगडा भयो’, उनले भने, ‘छोरी–बुहारी–ज्वाइँलाई मन्त्री बनाइदिने हो भने कुरा मिल्छ ।’
ओलीले प्रचण्ड–माधव नेपाललाई सडकमा ल्याएपछि बल्ल संविधान र विधिको कुरा गर्न थालेको कांग्रेस नेता पाण्डेले बताएका छन् ।

‘ओलीलाई सर्वसत्तावादी भन्न थालेका छन्, यो स्थिति एक महिनामा भएको हो र ? होइन । तीन वर्षसम्म भ्रष्टाचार भएको थियो । प्रचण्ड–माधवहरूले साथ दिएका थिए’, उनले भनेका छन् । नेता पाण्डेले कम्युनिस्टहरू असक्षम भएका कारण मुलुक समस्यातिर गएको बताए । उनले संसद विघटनको विषय सर्वोच्चमा रहेकाले अदालतको फैसलालाई कांग्रेसले मानेर अगाडि बढ्ने बताएका छन् ।

गोरखाबाट डा.बाबुराम भट्टराईलाई कांग्रेसले जिताएर ठूलो गल्ती गरेको कांग्रेस नेता पाण्डेले स्वीकार गरेका छन् । ‘बाबुरामलाई आँखमा भोट हालियो । हाम्रो आँखा फुटेकाले जितायौँ’, उनले भने, ‘अहिले मधेस केन्द्रित दलहरूलाई झुक्काउन जानुभएको छ ।’

कांग्रेस नेता पाण्डेले गोरखामा भएका विभिन्न कार्यक्रमहरूमा एक हप्तामा नेकपाका झण्डै पाँच सयभन्दा धेरैलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

Published : Friday, 2021 January 22, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया