कम्युनिस्ट भनेका स्याल हुन्, स्यालसँग कांग्रेसको सहकार्य हुँदैनः तरुण अध्यक्ष बस्नेत

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकार र सडकमा बसेर कांग्रेसलाई नधम्काउन कम्युनिस्टहरूलाई सचेत गराएका छन् ।

काठमाडौंको चन्द्रगिरी नगरपालिका– १२ को बलम्बुमा बिहीबार आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कम्युनिस्टहरूलाई स्यालको संज्ञा दिए । स्यालहरूलाई कांग्रेसले साथ नदिने उनले बताएका छन् ।

‘आज सडकमा बसेर हामीलाई धम्काउने होइन’, उनले भने, ‘कांग्रेस कुनै पनि कम्युनिस्ट पार्टीसँग मिल्दैन । सरकार, जंगल वा सडकको कम्युनिस्ट कसैसँग पनि कांग्रेस मिल्दैन ।’

तरुण अध्यक्ष बस्नेतले कम्युनिस्टहरूलाई स्यालको संज्ञा दिँदै स्यालको रजाइँमा बाघको कुरा नगर्न सचेत गराएका छन् ।

‘प्रचण्डजीले कतै म बाघ हुँ भन्नुभएको रहेछ । स्यालको रजाइँ गर्नेले बाघको कुरा गर्न सुहाउँदैन । कांग्रेस हो बाघ’, उनले भने, ‘सरकारमा बस्न सक्ने, प्रतिपक्षमा बस्न सक्ने, संविधान र शान्तिका लागि नाफघाट नहेरी देश र जनताका लागि काम गर्ने कांग्रेस हो ।’

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग आक्रोशित देखिएका अध्यक्ष बस्नेतले भने, ‘डा.बाबुराम भट्टराईलाई गोराखाबाट कांग्रेसले जिताउनुपर्ने । जितेर आएको सात दिनपछि कांग्रेसलाई म्युजियममा राख्ने भन्ने । कम्युनिस्ट जिताउने हामी । जितेर आएपछि हामीबिरुद्ध बोल्ने ? यस्ता कम्युनिस्टसँग हाम्रो सहकार्य हुँदैन ।’

तरुण अध्यक्ष बस्नेतले माधवकुमार नेपालको पनि आलोचना गर्दै बालुवाटार बेचेको आरोप लगाएका छन् । ‘माधव नेपालले बालुवाटार बेच्न जानु भएको थियो । अरुण तेस्रो खारेज गरिदिनुभयो । बालुवाटारमा बेचेको मान्छे सडकमा आएर संविधानको कुरा गर्ने ? स्वार्थ मिल्दासम्म एकसाथ हुनुहुन्थ्यो । कुरा नमिलेपछि सडकमा जानुभयो । संविधान मिचेको देख्नुभयो ।’

‘झलनाथ खनाल पनि सर्प पाल्न ७० करोड लिँदासम्म केपी ओलीसँग कुरा मिलेकै थियो’, उनले भने, ‘सर्पको पैसा फिर्ता गरेर कोरोनाविरुद्धको भ्याक्सिन किन्नुपर्छ ।’

केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल र झलनाथ खनालतिर संकेत गर्दै अध्यक्ष बस्नेतले भने, ‘यी चार जनाबीच लेनदेनमा कुरा नमिलेर सबै भएको हो । संसद विघटन भएको छ । कुरा नमिलेकाले संविधान मिचेको देखेका छन् । कुरा मिलेको भए सबै कुरा मिलेरै गर्ने थिए ।’

कांग्रेसले बनाएको संविधान रक्षा गर्ने बेला आएको भन्दै तरुण अध्यक्ष बस्नेतले भने, ‘कांग्रेसभित्र रहेकाहरू बोल्ने बेला भयो । संविधानको रक्षाका लागि बलिदान दिन तयार छौँ ।’

राज्यको सुविधा लिउर, पेन्सन खाएर सडकबाट फैसला नसुनाउन पूर्वप्रधानन्यायाधीशहरूलाई तरुण अध्यक्ष बस्नेतले सचेत गराएका छन् । फैसला गर्ने भए राजनीति गर्न उनले सुझाव दिएका छन् ।

संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा गएकोले जे फैसला आउँछ त्यसलाई कांग्रेसले स्वीकार गर्ने उनले बताएका छन् । ‘कांग्रेसले ओलीलाई सडकमा डो¥याएर लैजान्छौँ । चुनाव गराउन दवाव दिन्छौँ’, उनले भने, ‘संसद पुनःस्थापना भएर कांग्रेस तेस्रो पार्टी भयो भने पनि सर्वोच्चको फैसला मान्छौँ । निर्वाचनमा जान पनि तयार छौँ ।’

विगतमा ओलीले गुप्तचर विभाग आफू मातहत ल्याउँदा कांग्रेसले विरोध गरेको तरुण अध्यक्ष बस्नेतले बताएका छन् । ‘ओलीजीले गुप्तचर विभाग आफ्नो मातहत ल्याउनुभयो । कोही बोलेनन् । कांग्रेस बोल्यो’, उनले भने, ‘अहिले बल्ल स्वार्थ नमिलेपछि संविधान मिचिएको देखिएको छ ।’

तरुण अध्यक्ष बस्नेत बिहीबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भएका सरकार विरोधी कार्यक्रमहरूमा सहभागी भएर सम्बोधन गरेका छन् ।

Published : Thursday, 2021 January 21, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया