चापागाइँद्वारा मुख्यमन्त्रीका कार्यकर्तालाई कांग्रेसमा स्वागत, षडानन्द- १ मा भव्य प्रदर्शन

नेपालेडाँडा । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जनताले दिएको झण्डै दुईतिहाइको म्याण्डेटको भारीलाई कम्युनिस्टहरूले बोक्न नसकेर तीन वर्षमै प्रतिनिधि सभा भङ्ग गरेको आरोप लगाएका छन् ।

गृहजिल्ला भोजपुरको षडानन्द नगरपालिका– १ को नेपालेडाँडामा बिहीबार कांग्रेसले आयोजना गरेको सरकार विरोधी कार्यक्रमलाई सम्बोधन गर्दै चापागाइँले संविधान उल्लंघन गरेर केपी ओलीले संसद विघटन गरेको बताए । कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई असफल बनाउने र च्यात्नका लागि ओलीले संसद भङ्ग गरेको बताए ।

‘वैशाखमा निर्वाचन गर्नका लागि संसद विघटन भएकै होइन । संविधान असफल बनाउन संसद भङ्ग गरिएको छ’, उनले भने, ‘झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरू सत्ता चलाउन असफल भएका छन् । उनीहरूको पतन हुन शुरु भएको छ ।’

कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभएको उनले बताए । तर, कम्युनिस्टहरूले निर्वाचन गर्छन् भन्ने कुनै विश्वास नरहेको चापागाइँले बताएका छन् । ‘कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई कांग्रेसले रक्षा गर्छ’, उनले भने, ‘संसद विघटनको विषय अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कांग्रेसका लागि स्वीकार्य छ ।’

वडा नं. १ का कांग्रेस सभापति भीम थापाको सभापतित्वमा भएको विरोध कार्यक्रमलाई वडाध्यक्ष एवम् कांग्रेस नेता रामेश्वर भण्डारी र वडा सदस्य अम्विका राईले सम्बोधन गरेका थिए । उनीहरूले पनि ओलीको असंवैधानिक र अप्रजातान्त्रिक कदमको विरोध गरेका थिए ।

सोही कार्यक्रममा नेपाल तरुण दलको वडा कार्यसमिति गठन गरिएको छ । १५ सदस्य कार्यसमिति गठन गरिएको सभापति थापाले बताएका छन् ।

यसैबीच, कांग्रेसका युवा नेता चापागाइँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई दर्जनभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् । कम्युनिस्टहरूबाट दिक्क भएका उनीहरूले झुटको कुरा गर्ने नेकपामा बस्न नसकेर कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा धमाधम प्रवेश गर्दै आएका छन् ।

Published : Thursday, 2021 January 21, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया