ओली कम्युनिस्टका अन्तिम प्रधानमन्त्री, कांग्रेसलाई दुःख दिए दण्ड दिइनेछः खतिवडा

हर्कपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले केपी ओली कम्युनिस्ट पार्टीको अन्तिम प्रधानमन्त्री भएको घोषणा गरेका छन् ।

ओखलढुंगा जिल्लाको हर्कपुरमा बिहीबार आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कम्युनिस्टहरूले पतन हुने काम गरेकाले ओली कम्युनिस्ट पार्टीको अन्तिम प्रधानमन्त्री हुन सक्ने बताए । उनले भने, ‘ओलीजी कम्युनिस्ट पार्टीको अन्तिम प्रधानमन्त्री हो । सत्ता चलाउन सक्नुभएन । कम्युनिस्टहरूले कामनै त्यस्तै गरेका छन् ।’

उनले जनताबाट सत्तामा जाने करिव–करिव कम्युनिस्टको बाटो बन्द भएको बताएका छन् । जनताले झण्डै दुईतिहाइको बहुमत दिँदा पनि कम्युनिस्टहरूले सरकारले तीन वर्ष पनि चलाउन नसकेको खतिवडाले बताए । उनले सरकार चलाउन नसकेर कम्युनिस्टहरूले संसद विघटन गरेको बताए ।

कोरोना महामारीका बेला ओम्नीका नाममा कम्युनिस्टहरूले स्वास्थ्य सामग्री खरिदमा ठूलो भ्रष्टाचार गरेको बताएका खतिवडाले भने, ‘कम्युनिस्टहरूको बेथितिका बारेमा तपाईहरूलाई भन्न आएका हौँ । मन्त्रीले ७० करोड कमिशन मागेर मन्त्री पद गुमाएको कुरा भन्न आएका हौँ । ओखलढुंगामा गाउँमा बिजुली बाल्न नसकेर पिङ् उद्घाटन गर्ने नेकपाका सांसदको चर्तिकलाका बारेमा भन्न आएका हौँ ।’

नेता खतिवडाले सत्ताको आडमा कम्युनिस्टहरूले कांग्रेसलाई थर्काउना खोजे भने उन्मुक्ति नदिने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘हाम्रा कांग्रेसका साथीहरूलाई कम्युनिस्टले दुःख दिए भने हाम्रा हात फलाम हुनेछन् ।’

जनताले झण्डै दुईतिहाइ बहुमतका साथ कम्युनिस्टहरूलाई सत्तामा पु¥याइदिएको बताएका खतिवडाले भने, ‘कम्युनिस्टहरूले निर्वाचनका बेला ठूला कुरा गरे । जितेर गएपछि काम गरेनन् । भ्रष्टाचार मात्रै गरेका छन् । ओखलढुंगामा कांग्रेसले ल्याएका ठूला विकास योजना बाहेक नेकपाले आफ्नो सरकार हुँदा पनि योजना ल्याउन सकेनन् ।’

हर्कपुरमा एक करोड ३५ लाखको योजनाको विषयलाई लिएर कांग्रेसका शुभेच्छुकहरूलाई फसाउन खोजेको भन्दै खतिवडाले आक्रोश पोखेका छन् । कांग्रेसका साथीहरूलाई फसाउन खोजिए कम्युनिस्टहरूले त्यसको मूल्य चुकाउनुपर्ने खतिवडाले धम्की दिएका छन् ।

खतिवडाले कांग्रेसले जित्नेवित्तिकै ओखलढुंगासहित देशभरिको विकास गर्ने बताएका छन् । कांग्रेस नेता खतिवडाले ओलीलाई वैशाखामा चुनाव गरेर देखाउन चुनौति दिएका छन् । ‘ओलीजीले चुनाव वैशाखमा गर्नु हुन्न भन्ने आशंका छ’, उनले भने, ‘ओलीजीले संसद विघटन गर्नुभयो । ओलीजीको हिम्मत छ भने वैशाखा १७ र २७ मा चुनाव गराएर देखाउनुस् ।’

उनले भने, ‘ढिलो वा चाँडो चुनावमा जानुनै छ । कांग्रेस चुनावबाट डराउँदैन ।’ ओखलढुंगाबाट जितेर गएका नेकपाका सांसदले कुनै पनि काम गर्न नसकेको उनको आरोप थियो । चुनाव हारेपनि जनताको भावना कांग्रेस नहारेर बसेको खतिवडाले बताएका छन् ।

‘तीन वर्षमा ओखलढुंगामा ठूला आयोजना आउन सकेन । राष्ट्रपतिलाई हेलिकप्टर घुमाउने मात्रै काम भयो’, उनले भने, ‘ओखलढुंगा विकासको नाममा निल मात्र भयो ।’

कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार, उप–सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, अशोक कार्की, कमल तमाङ, बालकृष्ण दाहाल, सर्वधन तामाङ, नन्दलाल गिरी, योगेश तामाङलगायतको उपस्थिति रहेको कांग्रेस नेता खतिवडाका स्वकीय सचिव हुकुम राइले जानकारी दिएका छन् ।

ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा ओखलढुंगामा आयोजित थुप्रै कार्यक्रमहरूमा खतिवडा सहभागी भएर सम्बोधन गरेका छन् ।

Published : Thursday, 2021 January 21, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया