बामदेव गौतमका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश, बर्दियामा तिमिल्सिनाद्वारा स्वागत

गेरुवा । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले कम्युनिस्टहरू आफ्नै परिवारभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

गृहजिल्ला बर्दियाको गेरुवा गाउँपालिकाको वडा नं. २ भैरवपुर चौराहमा बिहीबार आयोजित कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले पूरा अवधि सरकार चलाउन नसकेको बताए । उनले भने, ‘घरभित्रको झगडा र परिवारल मिलाउन नसकेर कम्युनिस्टहरूले संसद विघटन गरेका छन् ।’

विरोध सभाका प्रमुख अतिथि समेत रहेका तिमिल्सिनाले भने, ‘मुलुकमा विकास र समृद्धि आउँछ भनेर हामीले सरकारलाई सहयोग नै गरेका थियौँ । कम्युनिस्टहरूले संसद विघटन गरेर मुलुकलाई अधिनायकवाद र अराजकतातिर लैजान खोजिएको छ ।’

संसद विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचन गर्ने भनेका प्रधानमन्त्री केपी ओली र नेकपाले कसरी जनतासँग भोट मोग्ने हुन् भनेर नेता तिमिल्सिनाले प्रश्न गरेका छन् । ‘जनताले बहुमत दिएर पाँच वर्षका लागि सरकारमा पठाए’, उनले भने, ‘तीन वर्षमा सत्ता र व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेका छन् ।’

किसानलाई अन्नबालीको उचित मूल्य दिन नसक्ने कम्युनिस्ट सरकारलाई जनताले निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । ‘हाम्रो करले चलेको यो गैरसंवैधानिक कम्युनिस्ट सरकारलाई जनताले राम्रोसँग चिनेका छन्’, उनले भने, ‘धानको उचित मूल्य दिन सक्दैन । कुन नैतिकताले कम्युनिस्टहरूले भोट माग्छन् ? लाज छैन । कम्युनिस्टलाई जनमत किन चाहियो ?’

‘संसद विघटन गर्नुपर्ने अवस्था थिएन । कांग्रेसले असहोग गरेको थिएन । परिवार मिलाउन नसक्नेले संसद विघटन गरेका छन्’, उनले भने, ‘कम्युनिस्टहरू सर्वसत्तावादमा गएका छन् । असंवैधानिक कदमको विरोध गर्नुपर्छ ।’

उनले कम्युनिस्टहरू सरकारमा जानेवित्तिकै कुर्सीको तानातान र कमिशनका कारण मुलुकमा समस्या आएको बताए । जनताले दिएको बहुमतलाई नेकपाले अपमान गरेको तिमिल्सनाले बताएका छन् ।

नेपाली कांग्रेस गेरुवा गाउँपालिका– २ का पार्टी सभापति श्रीप्रसाद थारुको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता आलोक थारु, नेपाल महिला संघ क्षेत्र नं. २ कि क्षेत्रीय सभापति राजु खत्री बडवालले ओलीको असंवैधानिक कदमको विरोध गरेका थिए ।
कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरूले ओलीविरुद्ध नारावाजी गरेका थिए ।

सोही कार्यक्रममा कांग्रेसका युवा नेता तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गरेका छन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूमा यज्ञबहादुर थारु, बलबहादुर थारु, जगमानि थारु, उज्याली थारु, विपिन बिक, मोहनलाल सोनल, रामप्रसाद थारु, जयराज सोनल, चेतराम थारु, अचैना थारु, मन्कु थारु लगायतका रहेका छन् ।

नेकपाका नेता बामदेव गौतमको गृहजिल्ला बर्दियामा कम्युनिस्टभित्र तनावको स्थिति सिर्जना भएको छ । सत्ता र व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेर पार्टीनै विभाजन गरेका बेला बामदेव गौतमको पार्टीका नेता कार्यकर्ताहरूलाई कांग्रेसका युवा नेता तिमिल्सिनाले पार्टीमा स्वागत गरेका छन् ।

Published : Thursday, 2021 January 21, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया