कमेडियनहरूले देश चल्दैनन्, कम्युनिस्टलाई परास्त गरौँः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले कम्युनिस्टहरूको बेथिति र विकृतिविरुद्ध देशभरि विरोध कार्यक्रम भएको भन्दै विरोध कार्यक्रम संसद विघटनका विरुद्ध मात्रै नभएको बताएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– ७ र टोखा नगरपालिका– ३ मा बिहीबार आयोजित कांग्रेसको अलग–अलग विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कम्युनिस्ट सरकार जनताको सरकार नभएर कम्युनिस्टका केही चल्तापुर्जा नेताको मात्रै सरकार बनेको आरोप लगाए ।

‘ओली नेतृत्वको कम्युनिस्ट सरकारको तीन वर्षे बेथितिको विरुद्धको कांग्रेसको प्रदर्शन हो । संसद विघटनको लागि मात्रै विरोध प्रदर्शन होइन’, उनले भने, ‘जनताले पाँच वर्षको लागि जिताएर पठाए । तीन वर्ष पनि चलाउन सकेनन् ।’

यो सरकारले जनताका लागि कुनै पनि काम नगरेको बताएका छन् । ‘आउने निर्वाचनमा कम्युनिस्ट पार्टीलाई परास्त गर्नुपर्छ । कम्युनिस्ट हुँदासम्म नेपालमा समृद्धि र सुखी नेपाल हुँदैनन्’, डा.महतले भने, ‘प्रधानमन्त्री हुनेवित्तिकै ओली तीन–चार वटा हेलिकप्टर लगेर रसुवा गएर दुरबिनले हेरेर रेल ल्याउँछु भने । अहिलेसम्म केही भएको छैन ।’

कम्युनिस्टहरूले माग्ने आधार गुमाएको सह–महामन्त्री डा.महतले बताएका छन् ।

संसद विघटन गर्ने अधिकार संविधानले नदिएको उनले बताएका छन् । डा.महतले संसद विघटनको विषय अदालतमा विचाराधीन रहेको भन्दै सर्वोच्चको निर्णयको खिलाफमा नजाने बताए ।

‘संसद पुनःस्थापना भयो भने दुई वर्षपछि चुनाव हुनेछ । संसद विघटनको पक्षमा फैसला दियो भने चुनावमा जानुपर्छ । हाम्रो आन्दोलन समयमा निर्वाचन गराउन केन्द्रित हुनेछ’, उनले भने, ‘ढिलो चाँडो निर्वाचनमा जानुछ ।’

ओलीको कम्युनिस्ट सरकार बनेदेखि नै भ्रष्टाचार, विकृति भएको उनले बताएका छन् ।
कम्युनिस्टहरूले देशमा विदेशी चलखेल गराएको डा.महतले बताएका छन् । उनले चीन र भारतबाट प्रतिनिधिहरू पालैपालो आएको भन्दै राष्ट्रियता कमजोर बनाएको बताए ।

मुलुकमा कमेडियनहरूले कुनै पनि काम गर्न नसक्ने उनले बताएका छन् । ओलीप्रति आक्रोशित डा.महतले जनताको अफ्ठ्याराहरूलाई सरकारले कुनै पनि काम गर्न नसकेको बताएका छन् ।

कांग्रेसको विरोध प्रदर्शनमा कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य रहेको थियो ।

Published : Thursday, 2021 January 21, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया