बिहीबार कांग्रेसको सबैभन्दा ठूलो र बृहत प्रदर्शन, देउवाद्वारा भावनात्मक अपील

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार देशभरि वडाहरूमा गर्न लागेको विरोध कार्यक्रममा सहभागी हुन अपील गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार अपील जारी गरेर विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७ सय ४३ वडाहरूमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु’, सभापति देउवाले भनेका छन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ नगरपालिका र गाउँपालिकाहरूमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

‘अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् ।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ’, उनले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

कांग्रेसले बिहीबारको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि नेताहरूलाई निर्देशन दिइसकेको छ । कार्यक्रमहरूलाई सफल बनाउन नेताहरू आ–आफ्नो वडाहरूमा खटिएका छन् । कांग्रेसले पहिलो पटक वडाहरूमा यसरी शक्तिशाली प्रदर्शन गर्न लागेको छ ।

Published : Wednesday, 2021 January 20, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया