कांग्रेसको योजनामा बनेको राप्ती पुलमा पूर्वएमालेको चुरीफुरी धेरै

लमही । दाङको देउखुरीस्थित सिसहनियाँ–महदेवा जोड्ने पुलको निर्माण सम्पन्न भएको छ ।

पुललाई प्रधानमन्त्री केपी ओलीले माघ १२ गते उद्घाटन गर्ने तयारी गरेका छन् । पुलको उद्घाटनलाई लिएर पूर्वएमालेहरूले चुरीफुरी देखाएका छन् । पूर्वएमालेहरूको चुरीफुरीलाई लिएर देउखुरीदेखि काठमाडौंसम्म हलचल ल्याइदिएको छ ।

पुलको उद्घाटनमा नेपाली कांग्रेसलाई बोलाउने वा नबोलाउने भन्ने विषयमा केही भनिएको छैन ।

पुलको जन्मादाता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.गोविन्द पोखरेलसहितका कांग्रेस नेताहरूलाई पनि उद्घाटनका विषयमा सुइको समेत दिइएको छैन ।

तत्कालीन पूर्वसांसद योगेन्द्र चौधरी, सुशीला चौधरीलाई पनि कुनै जानकारी दिइएको छैन । त्यो पुलका लागि बजेट पार्न योगेन्द्र र सुशीलाको ठूलो भूमिका र योगदान छ ।

२०७३ साल मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गर्ने बेला एमालेले देउखुरी उपत्यका बन्द आह्वान गरेर अबरोध सिर्जना गरेको थियो ।

अहिले पुल निर्माण सम्पन्न भएपछि पूर्वएमालेहरू उद्घाटन गर्न चुरीफुरी गरिरहेका छन् । जस लिन होडबाजी गरिरहेका छन् ।

नेकपा विभाजन भएका बेला पूर्वएमाले अर्थात ओली समूहले पुललाई देखाएर दाङ र देउखुरीमा राजनीति गर्न खोजेको छ । कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पुल शिलान्यास हुँदा पूर्वएमालेले गरेको हर्कतलाई सम्झाइदिएका छन् । कांग्रेस नेता चौधरीले तत्कालीन एमालेले पुलको शिलान्यास बिथोल्न देउखुरी उपत्यका बन्द गरेको स्मरण गराइदिएका हुन् ।

पुलको उद्घाटनलाई लिएर पूर्वएमालेकी नेतृ शान्ता चौधरी, लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्मालगायतका नेताहरूको चुरीफुरी बढेको छ । यो पुलमा शान्ता र रेवती खासै योगदान छैन भन्नेहरू नेकपाकै नेताहरूको भनाइ छ । बरु पुलमा तत्कालीन सांसद गंगा चौधरीको धेरै योगदान छ ।

तत्कालीन प्रधानमन्त्री दाहाल हेलिकप्टरमार्फत आएर पुलको शिलान्यास गरेका थिए । पुलको शिलान्यास गर्न नदिन एमालेले देउखुरी उपत्यका बन्द आह्वान गरेको थियो ।

एमालेले बन्द आह्वान गरेर ठाउँ–ठाउँमा अबरोध सिर्जना गरेपछि दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे पुल शिलान्यास कार्यक्रममा जान पाएका थिएनन् ।

पुल शिलान्यास कार्यक्रममा तत्कालीन प्रधानमन्त्री दाहालका साथै कांग्रेस नेता एवम् तत्कालीन सिचाइँमन्त्री दीपक गिरी, कांग्रेस नेता एवम् तत्कालीन सांसद योगेन्द्र चौधरी, तत्कालीन सांसद गंगा चौधरीलगायतको उपस्थिति रहेको थियो ।

राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकको महदेवा जोड्ने पुल नेपालकै दोस्रो लामो पुल मानिन्छ । यो पुल ८६० मिटर लम्बाई र साढे १० मिटर चौडाइ रहेको छ ।

के भन्छन् पुलको जन्मदाता डा.पोखरेल ?

नेपाली कांग्रेसका तत्कालीन सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री थिए । त्यस बेला राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा.पोखर थिए । प्यूठान जिल्ला स्थायी घर भएपनि दाङको विकासका लागि केही गर्नुपर्छ भनेर विभिन्न योजनाहरू उनले राखेका थिए । देउखुरी उपत्यकाको विकास, पर्यटन र राप्ती नदीको कटान रोक्न विभिन्न योजनाहरू अगाडि सारेको उनले बताए ।

पुलको लागि बजेट तत्कालीन भौतिक मन्त्रीद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारको ठूलो योगदान छ । निधि र गच्छदारले बजेट छुट्याइदिएको डा.पोखरेलले बताए । त्यस बेला सत्बरिया नजिकै राप्ती पुलमा पनि अर्को योजना पारिएको उनले बताए ।

डा.पोखरेलले देउखुरी उपत्यकमा रिङ्रोड बनाउने योजना अगाडि सारेको बताए । राप्ती नदीमा पुलहरू निर्माण गरेपछि तटबन्द स्वतः हुन्छ भनेर देउखुरीका सांसदहरूलाई बोलाएर निवेदन दिन आग्रह गरेको उनले बताएका छन् । त्यस बेलाका सांसदहरू योगेन्द्र चौधरी, सुशीला चौधरी, गंगा चौधरी र रश्मीराज नेपालीलाई बोलाएर योजनाहरू दिन अनुरोध गरेपछि उनीहरूले साथ दिएको डा.पोखरेलले बताएका छन् । पुल बनाउन पूर्वएमालेहरूको खासै योगदान नरहेको डा.पोखरेलले बताएका छन् ।

डा.पोखरेलले त्यही बेला लमही–घोराही–तुलसीपुरदेखि सल्यानको कपुरकोटसम्म चार लेनको बाटोको योजना राखेका थिए । भालुबाङदेखि बाग्दुला, भीमफेदी हुँदै मुस्ताङ जोड्ने डबल लेनको योजना पनि डा.पोखरेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा राखेको बताए ।

देउखुरीमा एयरपोर्टको योजना पनि आफूले राखेको उनले बताए । देउखुरीमा एयरपोर्ट बन्दा रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, सल्यानलाई पायक पर्छ भनेर आफूले योजना राखिएको डा.पोखरेलले बताएका छन् । सुरइ नाकाको खोलामा ड्याम बनाएर पानी जम्मा गर्ने पनि उनकै प्रस्ताव थियो ।

त्यो योजनालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस पटक बजेट राखेर कार्यान्वयनमा ल्याउन लागेको उनले बताए । ड्याम बनाएर वर्षातको पानी जम्मा गरेर जलासय बनाइ कपिलवस्तुमा सिचाइँको योजना बनाउन डा.पोखरेलले नै सुझाव दिएका थिए । मुख्यमन्त्री पोखरेलले पनि सुरइ नाकाको खोलामा जलासय ड्याम बनाउनेबारेमा डा.पोखरेलसँग सल्लाह र सुझाव पनि लिएको उनले बताएका छन् ।

Published : Tuesday, 2021 January 19, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया