प्रचण्डले कार्यकर्ता उचालेकै दिन ओली समूहका वडाध्यक्षको टाउको फुटाइदिए

सिमकोट । हुम्ला जिल्लामा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले वडाध्यक्ष रंग थापाको टाउको फुटाइदिएका छन् ।

अदानचुली गाउँपालिका– १ का वडाध्यक्ष थापालाई प्रचण्ड–माधव समूहले आक्रमण गरेर घाइते बनाएका हुन् । वडाध्यक्ष थापा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकटका हुन् ।

वडा नम्बर १ को कल्ख्यामा ओली समूहले वडा कमिटी गठन गरेपछि वडाध्यक्ष थापासहितको समूहमाथि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले आक्रमण गरेको जनाइएको छ ।

वडा कमिटी गठन गरेर फर्कने क्रममा आइतबार बाटोमा ढुकेर बसेका प्रचण्ड–माधव समूहका कार्यकर्ताले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडाध्यक्ष एवम् नेकपाका नेता थापाको टाउको तथा मुखमा चोट लागेको छ । थापालाई स्थानीय स्वास्थ्य चौकीमा ६ वटा टाँका लगाइएको छ ।

पूर्वमाओवादीबाट वडाध्यक्षमा निर्वाचित थापा नेकपाको ओली समूहतिर लागेपछि प्रचण्ड–माधव समूह रिसाएको छ ।

आइतबार काठमाडौंमा प्रचण्डले शाकाहारी आन्दोलनले केही नहुनेभन्दै लठ्ठी खाने मन छ भनेकै दिन हुम्लामा ओली समूहका नेता एवम् वडाध्यक्ष थापाको टाउको फुटाइएको छ ।

Published : Monday, 2021 January 18, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया